काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन वटा निर्वाचन चिह्नमा सामान्य हेरफेर भएको छ ।
निर्वाचन आयोगको अभिलेखमा रहेको निर्वाचन चिह्नको नाम र चिह्नमा केही भिन्नता देखिएको र आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएको भन्दै निर्वाचन आयोगले तीन वटा चुनाव चिह्न हेरफेर गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार असोज २७ गतेको निर्णयअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी तीन वटा निर्वाचन चिह्नको अनुसूचीमा हेरफेर गरिएको हो ।
निर्देशिकाको अनुसूची २९ को क्रम सङ्ख्या १३ मा रहेको हाम्रो नेपाली पार्टीको निर्वाचन चिह्न लौरो र अनुसूची को खण्ड (क) मा रहेका स्वतन्त्र उम्मेदवारको लागि निर्धारित निर्वाचन चिह्नअन्तर्गत डोजर र क्रस खुकुरी निर्वाचन चिह्न हेरफेर गरिएको छ ।
हेरफेर गरिएका निर्वाचन चिह्नसहितको विवरण वेबसाइटमा राखिएकोे आयोगले जनाएको छ । आगामी मङ्सिर ४ गते आइतबार देशभर एकै चरणमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । आयोगले यही असोज २६ गते मनोनयनपत्र दर्ता गराएका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको थियो ।
समानुपातिकतर्फको मतपत्र छपाइ सकियो
निर्वाचन आयोगले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सकाएको छ ।
आयोगले समानुपातिक निर्वाचनका लागि आवश्यक पर्ने सबै (४ करोड ६ लाख ५ हजार) मतपत्रको छपाइ सकिएको जनाएको छ । प्रतिनिधिसभातर्फको समानुपातिक प्रणालीका लागि २ करोड ४ लाख २१ हजार मतपत्रको छपाइ भएको छ भने सातवटै प्रदेशका लागि समानुपातिकतर्फको २ करोड १ लाख ८४ हजार मतपत्रको छपाइ भएको आयोगले जनाएको छ ।
आयोगकाअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि शनिबार (असोज २९ गते)सम्म १७ लाख मतपत्र छपाइ भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मतपत्र ढुवानी भइरहेको छ ।
शनिवारसम्म खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लामा उक्त मतपत्र ढुवानी भएको छ ।