एमालेसँग नजिकियो लोसपा 

0

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेकपा एमालेसँग नजिकिएको छ । चुनाव नजिकिँदै गर्दा नेकपा एमालेसँग चुनावी तालमेलका लागि वार्ता गर्न लोसपाले समिति नै बनाएको छ । राजेन्द्र महतोको नेतृत्वमा लोसपाले बनाएको समितिमा नेताहरु शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल सदस्य छन् ।

समितिलाई आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ एमाले लगायतका विचार मिल्ने दलहरूसँग सहकार्यको निर्णय गर्ने गरी वार्ता गर्ने अधिकार दिइएको छ ।

पाँच वटा दल मिलेर गठबन्धन बनेपछि एक्लिएको एमालेले पनि मधेश प्रदेशमा लोसपासँग तालमेल गर्न चाहेपछि वार्ता समिति बनाइएको लोसपा नेताहरू बताउँछन् । लोसपा नेता जितेन्द्र सोनल निर्वाचनमा हारजित भन्दा पनि विचार र सिद्धान्त मिलेकाले एमालेसँग चुनावी तालमेलको प्रयास भएको बताउँछन् । उनी भन्छन्, ‘अन्य दलभन्दा एमाले तालमेलका लागि लचिलो भएको पाएका छौं ।’ 

सत्ता गठबन्धनले मधेश र संघीयता विरोधी शक्ति भनेर आलोचना गर्न थालेपछि एमाले लोसपासँग नजिक पुगेको देखिन्छ । यसअघि २४ भदौ २०७९ मा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोसपा अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका थिए । 

उनीहरूको एमाले र लोसपा तालमेलबारे कुरा गरेका थिए । मधेसमा लोसपाका मुख्य क्षेत्रीय प्रतिद्वन्द्वी जसपा हालको सत्ता गठबन्धनसँग चुनावी तालमेलमा छ । पार्टी अध्यक्ष उपेन्द्र यादव आफैं सिट बाँडफाँड निष्कर्षमा पुर्याउन सक्रिय छन् । यही बेला लोसपा एमालेसँग नजिकिएको हो । 

‘अब त हामीलाई एमालेसँग सहकार्य गर्नुको विकल्प छैन,’ लोसपाका एक नेताले भने, ‘नत्र हामीले संघ र प्रदेश दुवैतिर गुमाउँछौं ।’ ती नेताका अनुसार मधेस प्रदेशमा रहेका ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये करिब १८ वटा लिनेगरी एमालेसँग सहमति बन्न सक्छ । 

एमालेले लोसपालाई केही सहयोग हुने गरी नै सहकार्यको प्रस्ताव गरेको जनाइएको छ । तर नेता लोसपा अध्यक्ष ठाकुरले भने तत्काल केही निर्णय दिएका छैनन् । तर सहकार्यका पक्षमा रहेको भन्दै उनले वार्ता समिति नै बनाएका हुन् ।  एमालेले आउँदो चुनावमा आफू एक्लै लड्ने बताउँदै आए पनि तालमेलका लागि सम्भावित साना दलहरूको खोजी भने गरिरहेको छ । 

Leave A Reply

Your email address will not be published.