काठमाडौं : आगामी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि अधिकांश राजनीतिक दलहरुले समानुपातिक निर्वाचनतर्फको बन्दसूची आज बुझाउँदै छन् ।
निर्वाचन आयोगले हिजो र आजका लागि बन्द सूचि बुझाउने समय तोकेको थियो । पहिलो प्रमुख राजनीतिक दलहरूले बन्दसूचीका उम्मेदवारको नाम टुंग्याउन नसकेकाले आज बुझाउन लागेका हुन् ।
आयोगले बन्दसूचीमा समावेश गरिएका उम्मेदवारको नाम संशोधन गर्न सकिने तर पूरै परिवर्तन गर्न नमिल्ने जनाएको छ ।
समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार प्रतिनिधि सभा सदस्यतर्फ दुईवटा दलले मात्रै बन्दसूची पेश गरेका छन् ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि दलहरूबाट निवेदन आह्वान गर्दा प्रतिनिधि सभाका लागि ७६ वटा दलबाट ६८ निवेदन परेको थियो ।
प्रदेशगत रूपमा सबैभन्दा बढी मधेश प्रदेशमा ६६ वटा दलबाट ५८ वटा निवेदन परेको थियो । समानुपातिक निर्वाचन प्रणालीमा सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानेर दललाई मत दिने र दलले प्राप्त गरेको कुल मत संख्याको अनुपातमा उम्मेदवार निर्वाचित हुन्छन् ।
प्रतिनिधिसभाको कुल २ सय ७५ सिटमध्ये १ सय ६५ जना प्रत्यक्ष मतदानबाट निर्वाचित हुन्छन् भने १ सय १० जना समानुपातिक प्रणालीबाट चयन हुने व्यवस्था छ ।
समानुपातिकतर्फको बन्दसूचीमा नाम समावेश भएका व्यक्ति प्रत्यक्षतर्फ उम्मेदवार बन्न पाउँदैनन् । समानुपातिकमा उम्मेदवार हुन सोमबारसम्म २५ वर्ष पूरा भएको हुनुपर्छ ।