निर्वाचनमा तालमेल गर्ने गठबन्धनमा सहमति, सिट बाँडफाँटका लागि कार्यदल गठन

0

काठमाडौं : सत्तारुढ पाँचदलीय गठबन्धनका नेताहरू आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा पनि तालमेल गरेरै अगाढि बढ्न सहमत भएका छन् ।

आज बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा भदौ पहिलो साताभित्र निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउने सहमति पनि भएको छ ।

सिट बाँडफाँटका लागि पाँचै दलको प्रतिनिधित्व हुने गरी ११ सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिमसातासम्म सिफारिस गर्न भनिएको छ ।

पाँच दलले स्थानीय तहमा तालमेलका लागि पनि कार्यदल बनाएका थिए ।

सरकारले हिजो मात्रै आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको एकै चरणमा गर्ने निर्णय गरेको थियो ।

सरकारले चुनावको मिति घोषणा गरेलगत्तै गठबन्धनका नेताहरू सिट बाँडफाँटका लागि कसरत गर्न थालेका हुन् ।

प्रतिनिधि सभामा १ सय ६५ र प्रदेश सभामा ३ सय ३० सिट छन् । कांग्रेसले प्रतिनिधि सभामा एक सय सिट दावी गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.