माओवादीको निर्णय : एमसीसीको १२ बुँदे व्याख्याबारे अमेरिकाको स्पष्ट धारणा माग्ने

0

काठमाडौं : नेकपा माओवादी केन्द्रले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गर्दा भएको १२ बुँदे घोषणाबारे अमेरिकासँग स्पष्ट धारणा माग गर्दै पत्र लेख्ने निर्णय गरेको छ । 

पार्टीको गत असार १९ देखि २३ सम्म बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

एमसीसी सम्झौता अनुमोदन गर्दा १२ बुँदे घोषणा अमेरिकाले स्वीकार नगरेको खण्डमा स्वतः खारेज हुने ब्याख्या भएको श्रेष्ठले बताएका छन् । 

‘उक्त घोषणा अमेरिकाले स्विकार नगरेको खण्डमा एमसीसी सम्झौता स्वतः खारेज हुने ब्याख्या संसदमा नै गरिएको थियो,’ श्रेष्ठले भनेका छन्, ‘तर एमसीसी अमेरिकाले अहिलेसम्म १२ बुँदे घोषणाका बारेमा कुनै प्रतिक्रिया दिएको देखिएको छैन । तसर्थ नेपाल सरकारले यथाशिघ्र अमेरिकासंग १२ बुँदे घोषणाको सम्बन्धमा उसको धारणा स्पष्ट गर्न माग गर्दै पत्र लेख्नु पर्छ ।’

त्यस्तै, एसपीपी सम्झौताबारे तत्काल अमेरिकालाई पत्र लेखेर औपचारिक जानकारी गराइनुपर्ने पनि उनले बताएका छन् । 

‘अमेरिकासँगको सैन्य गठबन्धनको चरित्र अन्तर्निहीत एसपीपी सम्झौता नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्र एवम् असंलग्न परराष्ट्र नीति र राष्ट्रिय हितविपरीत भएकाले त्यसलाई दृढतापूर्वक अस्वीकार गर्नुपर्दछ भनेर हामो पार्टी, सम्पूर्ण देशभक्त शक्तिहरु र जनताले सशक्त आवाज उठाएपछि सरकारले त्यसलाई अघि नबढाउने निर्णय गरेको छ,’ श्रेष्ठले निर्णयबारे जानकारी दिँदै भनेका छन्, ‘राष्ट्रिय सार्वभमिकता एवम् हितका सम्बन्धमा यो सही निर्णय हो । यस सम्बन्धमा सरकारले तत्काल अमेरिकी सरकारलाई पत्र लेखी औपचारिक जानकारी गराइहाल्नु पर्दछ ।’

एमसीसी कम्प्याक्ट सम्झौताबारे आगामी निर्वाचनपछि यसअघि निर्धारित फोरम सञ्चालन गर्ने निर्णय पार्टीले गरेको पनि उनले बताएका छन् । 

Leave A Reply

Your email address will not be published.