निर्वाचनमा भएको अन्तरघातको छानविन गर्न माओवादीले बनायो ३ सदस्यीय समिति

0

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा अन्तरघात भएको भन्दै छानविन गर्न समिति बनाएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी सिमिति बैठकले चुनावमा भएको अन्तर्घातको विषयमा छानविन गर्न अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा तीन सदस्यी समिति गठन गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

समितिमा केन्द्रीय सदस्यहरू मुक्ति प्रधान र खिमलाल देवकोटा सम्मिलित रहेको प्रवक्ता महराले जानकारी दिए ।

यस्तै अखिल क्रान्तिकारीमा देखिएको समस्या समाधानका लागि पूर्वविद्यार्थी नेताहरू सम्मिलित तीन सदस्यीय सुझाव समिति गठन भएको उनले जानकारी दिए ।

यस्तै प्रदेश कमिटी र केन्द्रीय कमिटीबीच आगामी निर्वाचनका लागि समन्वय गर्न प्रदेश इन्चार्जहरूको नेतृत्वमा प्रदेश समन्वय समिति बनाइएको छ ।

जसमा सो प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्य र सबै प्रदेश कमिटीका पदाधिकारी रहने निर्णय भएको नेता महराले जानकारी दिए ।

त्यस्तै माओवादीले निर्वाचनअघि प्रदेशको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । बैठकले साउन १६ गतेदेखि भदौ ३ गतेसम्म विभिन्न प्रदेशको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

महराका अनुसार पार्टीले साउन १६ गते बागमती प्रदेश, १८ गते गण्डकी प्रदेश, २० गते प्रदेश १, २२ गते लुम्बिनी प्रदेश, २८ गते सुदूरपश्चिम प्रदेश, २९ गते कर्णाली प्रदेश, ३० गते विशेष प्रदेश, भदौ १ गते सम्पर्क समन्वय र ३ गते प्रवासको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेछ ।

Leave A Reply

Your email address will not be published.