काँग्रेस नेता केसीको छुट्टै प्रस्ताव

0

काठमाडौं, १९ भदौ । नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि ४४ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल, जनमोर्चा नेपाल, नेपाल परिवार दल र नेपाः राष्ट्रिय पार्टीसम्बद्ध सभासद्ले तथा नेपाली काँग्रेस र एकीकृत नेकपा (माओवादी)का सभासद्ले व्यक्तिगत रुपमा ती संशोधन प्रस्ताव संविधानसभा सचिवालयमा दर्ता गराएका हुन् ।
प्रमुख चार दल नेपाली काँग्रेस, नेकपा (एमाले), एमाओवादी र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले भने दलगत रुपमा संशोधन हालेका छैनन् । चारै दलले साझा संशोधन प्रस्ताव दर्ता गर्ने प्रयासमा वार्ता जारी राखेकाले अहिलेसम्म ती दलबाट संशोधन दर्ता नभएको हो ।
संविधानसभा सचिवालय विधेयक शाखाका प्रमुख हृदयराम मर्हजनका अनुसार सभासद् भास्कर भद्रा, कुमार खड्का, चन्द्रेश्वर झा, अतहर कमाल मुसलमान, अर्जुननरसिंह केसी, जयदेव जोशी, सुरेन्द्रप्रसाद जैसवाल, सत्यनारायण विन भगत, प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगरले संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ ।
त्यस्तै समाजवादी जनता दल, नेपाल जनमुक्ति पार्टी(लोकतान्त्रिक), खम्बुवान् राष्ट्रिय मोर्चा, दलित जनजाति पार्टीलगायतले पनि संशोधन प्रस्ताव राख्नुभएको छ । ती दलका तर्फबाट सभासद् प्रेमबहादुर सिंह, दीपक बोहरा, शिवलाल थापा, सीमाकुमारी विक, रामकुमार राई, यशोदाकुमारी लामा, लक्ष्मण राजवंशी, चित्रबहादुर केसी, मीना पुन, दुर्गा पौडेल, भक्तबहादुर विक, परशुराम तामाङ, सत्याक खान, आनन्दी पन्त, एकनाथ ढकाल र मिलनकुमारी राजवंशीले संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो । नेपाली काँग्रेसका डा शेखर कोइरालाले भने व्यक्तिगत रुपमा संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो ।
सभासद्हरुबाट प्राप्त भएको संशोधन प्रस्तावलाई एकीकृत गरेर पठाउने तयारीमा जुटेको विधेयक शाखाका प्रमुख महर्जनको भनाइ छ । संविधानसभाले संशोधन प्रस्तावलाई एकीकृतरुपमा तयार पार्न दुई दिनको समयसीमा प्रदान गरेको छ ।

प्रस्तावनामा बढी संशोधन प्रस्ताव
हालसम्म प्राप्त भएका संशोधन प्रस्तावमा संविधानको प्रस्तावनामा सबैभन्दा बढी संशोधन परेको छ । विधेयक शाखाका प्रमुख महर्जनले धर्म, राष्ट्रिय झण्डाको परिवर्तन, प्रदेशको सीमा निर्धारण, महिला, दलित तथा आदिवासीको अधिकार, राष्ट्रिय जनावरलगायत विषयमा बढी संशोधन परेको जानकारी दिनुभयो ।

काँग्रेस नेता केसीको छुट्टै प्रस्ताव
नेपाली काँग्रेसका सभासद् अर्जुननरसिंह केसीले शुक्रबार संसदीय दलमा दर्ता गराउनुभएको संशोधन प्रस्ताव आज सचिवालयमा दर्ता गराउनुभएको छ । सभासद् केसीले धार्मिक स्वतन्तताको ठाउँमा बहुधार्मिक वा सर्वधर्म लेखिनुपर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ । काँग्रेसकै सभासद् शेखर कोइरालाले हिजो दर्ता गराउनुभएको प्रस्ताव पार्टी नीति विपरीत रहेको भन्दै आलोचना भएको थियो । काँग्रेस संसदीय दलमा ४५ जना सभासद्ले विभिन्न विषयमा संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.