कफ्यु र सेना हटाउ वार्तामा बस्छौं : अध्यक्ष महतो

0

रुपन्देही, १८ भदौ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकार लचिलो भएमात्र आफूहरु वार्तामा बस्नसक्ने बताउनुभएको छ । उहाँले यथास्थितिमै आफूहरु वार्तामा बस्न नसक्ने बताउँदै सरकारले वार्ताको वातावरण बनाउनुपर्ने बताउनुभयो । सद्भावना पार्टी रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष महतोले संसद् भवनमा चलिरहेको छलफलबाट अगाडि बढ्ने भन्ने कुरालाई छल गरेर फल निकाल्ने काम मात्र भएको बताउँदै विभिन्न ठाउँमा परिचालन गरिएका नेपाली सेनालाई फिर्ता नबोलाउँदासम्म र निषेधाज्ञा नहटाउँदासम्म वार्ताको सम्भावना नरहेको बताउनुभयो । उहाँले आन्दोलनमा मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, संविधान निर्माण प्रक्रिया रोक्नुपर्ने, घटनाको सत्यतथ्य छानबिनका लागि न्यायिक आयोग गठन गर्नुपर्नेलगायतका माग गर्नुभयो ।
उहाँले पछिल्लो समयमा आन्दोलन उत्कर्षमा पुगिरहेका बेला आन्दोलनलाई शान्तिपूर्ण र साम्य पार्नुको साटो उल्टै आन्दोलन चर्काउने खेलमा लागिरहेको समेत आरोप लगाउनु भयो । अध्यक्ष महतोले विगतको सम्झौतालाई भुलेर संविधान निर्माण प्रक्रियामा मुख्य दलहरु होमिएका कारण आफूहरु आन्दोलनमा जान बाध्य भएको बताउनुभयो ।
अध्यक्ष महतोले अहिलेकै प्रक्रियाबाट संविधान बन्ने भए त्यो संविधान प्रतिगामी संविधान हुने बताउँदै त्यो आफूहरुलाई कुनै पनि अवस्थामा मान्य नहुनेसमेत प्रष्ट पार्नुभयो । सीमाङ्कनको विषयमा बोल्दै उहाँले झापादेखि नारायणीसम्मको एक प्रदेश र नारायणीदेखि कञ्चनपुरसम्मको अर्को प्रदेश हुनुपर्ने बताउनुभयो । उहाँले प्रदेशमा नामाकरणमा कुनै आपत्ति नभएको बताउनुभयो ।
उहाँले नेपाली जनताले रगतको खोला बगाएर विगतको आन्दोलनबाट प्राप्त गरेको उपलब्धिलाई अहिले वास्ता नगरिएका कारण फेरि पनि त्यही उपलब्धिका लागि अहिले सडकमा आउनुपरेको बताउनुभयो । उहाँले भन्नुभयो – “अन्तरिम संविधानमा लेखिएका कुराहरुलाई ध्वस्त पारियो, जुन नेपाली जनताले रगत बगाएर प्राप्त गरेका थिए ।”
उहाँले देशमा भएको ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलन तथा अन्य आन्दोलनको मर्म तथा भावना सङ्िघय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान निर्माण गर्ने भएकाले सङ्घियताबिनाको संविधान आए त्यो अपुरो हुने बताउनुभयो ।
चौथो पटक भैरहवामा निषेधित क्षेत्र घोषणा
यसैबीच, जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्ला सदरमुकाम भैरहवामा चौथो पटक निषेधित क्षेत्र घोषणा गरेको छ ।
कार्यालयले आज साँझ ६ बजेदेखि आगामी भदौ २४ गते साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ ।
प्रशासन कार्यालयले भैरहवा क्षेत्रमा सभा, जुलुस, पाँचजनाभन्दा बढी मान्छे हिँड्न तथा जम्मा हुन नदिने गरी निषेधित क्षेत्र घोषणा जारी गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज विज्ञप्ति जारी गर्दै भैरहवाको पूर्वमा वसन्तपुर गाविसको वाइपास सडक, पश्चिममा गौतमबुद्ध विमानस्थलको मायाँदेवी चोक, उत्तरमा विद्युत् कार्यालय र दक्षिणमा बेलहिया वाइपास रोडसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।
प्रशासनले निषेधित क्षेत्र घोषणा गरे पनि यातायात, पसल, बजार भने सहज रुपमा सञ्चालन गर्न पाइने प्रजिअ ढकालले जानकारी दिनुभयो । विगत २२ दिनदेखिको बन्दका कारण भैरहवालगायत मर्चवार, लुम्बिनी, धकधई क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।

Leave A Reply

Your email address will not be published.