काठमाडौं, १६ भदौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको हिजो सम्पन्न बैठकले संविधान निर्माणमा पार्टी केन्द्र व्यस्त रहनुपरेको विशेष परिस्थितिका कारण कांग्रेसको गाउँ, नगर वडा, नगर, क्षेत्र र जिल्ला अधिवेशनका पूर्वनिर्धारित कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा संविधानसभा भवन, नयाँ बानेश्वरमा आज बसेको बैठकले विशेष परिस्थितिका कारण पाँच वर्षभित्रमा पार्टीको केन्द्रीय पदाधिकारीको निर्वाचन ‘महाधिवेशन’ हुन नसकेमा बढीमा छ महिना थप गर्न सकिने व्यवस्था नेपालको अन्तरिम संविधान, २०६३ र संविधानसभाबाट बन्न लागेको नयाँ संविधानमा व्यवस्था र पार्टीको विधानमा पनि सो व्यवस्था गर्ने निर्णय गरेको छ ।
अधिवेशनसम्बन्धी कार्यक्रम केन्द्रीय कार्य समितिको बैठकले पछि निर्णय गरेबमोजिम हुने मुख्य सचिव ऋषिकेश तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । संविधानसभामा प्रस्तुत संविधान विधेयकमाथि संशोधन प्रस्ताव प्रस्तुत गर्दा अन्य दलसँग सल्लाह गरी दुई तिहाइ पु-याउने वातावरण तयार गरेर मात्र गरिने र सोका लागि पार्टी नेतृत्वलाई जिम्मेवारी दिने, संशोधन प्रस्तुत गर्दा प्रमुख सचेतकले सहमतिमा रहेका दलसँग मिलेर गर्ने निर्णय गर्दै बैठकले संविधान निर्माण प्रक्रियालाई अविलम्ब टुङ्गोमा पु-याई संविधान घोषणा गराउने कार्यमा एकताबद्ध भई लाग्न कांँग्रेस संसदीय दलका सबै सदस्यलाई निर्देश गरेको छ ।
कैलालीको टीकापुरलगायत देशका विभिन्न ठाउँमा भएका हिंसात्मक घटनाप्रति खेद एवं दुःख प्रकट गर्दै हिंसात्मक घटनामा परी ज्यान गुमाएका नाबालक, प्रहरी अधिकृतलगायत सबैमा श्रद्धाञ्जलि अर्पणका साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ । त्यस्तै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारको बन्दोबस्त गर्न एवं तोडफोड र आगजनीबाट भएको भौतिक क्षतिका लागि आर्थिक सहयोग एवं राहत उपलब्ध गराउन सरकारसँग बैठकले माग गरेको छ । कैलाली टीकापुरको घोर अमानवीय हिंसात्मक घटनाका अपराधीमाथि कारबाहीका लागि पार्टीले सरकारसँग माग गरेको छ ।
संविधान निर्माणका समग्र विषयवस्तु संविधानसभाभित्र छलफल गरेर प्रक्रियाबमोजिम टुङ्गोमा पु-याउनुपर्ने निर्णय गर्दै दलले संविधानसभाभित्र रहेका सबै राजनीतिक दल एवं सभासद्लाई संविधानसभाभित्र रहेर संविधान निर्माणमा आफ्नो महत्वपूर्ण योगदान पु-याउन आग्रह गरेको छ ।
वार्ताद्वारा समाधान खोज्न आह्वान
देशका विभिन्न भागमा भएका तोडफोड, बन्द, हडताल, आगजनी जस्ता सर्वसाधारण जनतालाई दुःखकष्ट हुने सबै गतिविधि रोक्न आग्रह गर्दै पार्टीले वार्ताद्वारा समाधान खोज्न आन्दोलनरत सबै पक्षलाई आह्वान गरेको छ । समाजमा शान्ति, सद्भाव र एकता कायम गर्ने कार्यमा सहयोग पु-याउन सबै राजनीतिक दल, मानवअधिकारकर्मी, पत्रकार, कानुन व्यवसायी, प्राध्यापक, शिक्षक, राष्ट्रसेवक, चिकित्सक, नागरिक समाज, उद्योग व्यवसायी, युवा, विद्यार्थी, श्रमिक, विभिन्न पेसा एवं व्यवसायसँग आबद्ध सङ्संस्थालगायत सबै दिदीबहिनी तथा दाजुभाइसँग आग्रह गर्दै पार्टीले देशभर जनताको जिउधनको सुरक्षाको भरपर्दो एवं विश्वसनीय व्यवस्था गर्न सरकारसँग माग गरेको छ । बैठकले प्रा डा गोविन्द केसी विभिन्न माग राखी आमरण अनशनमा बस्नु भएको धेरै दिन व्यतीत भइसकेका स्थितिमा तत्काल वार्ताद्वारा समस्याको समाधान खोज्न सरकारलाई अनुरोध गरेको छ ।