गोली लागेर वीरगन्जमा ४ र कलैयामा १ को मृत्यु

0

वीरगन्ज, १५ भदौ । पर्साको वीरगन्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मंगलबार ४ जनाको मृत्यु भएको छ । लक्षमनवायमा कर्फ्यु तोड्दै उत्रिएका प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्नेक्रममा प्रहरीको गोली लागि दिनानाथ साह र भोला प्रसादको मृत्यु भएको हो । यस्तै, वीरगन्जकै नगुवामा सोहम साह कलवारको मृत्यु भएको छ ।
यसअघि, मंगलबारै राधेमाई टोल नजिक प्रहरीले चलाएको गोली लागेर मनियारीका धर्मराज सिंहको मृत्यु भएको थियो । प्रदर्शन उग्र बन्दै गएपछि स्थानीय प्रशासनले वीरगन्ज र आसपासको क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । दंगाग्रस्त क्षेत्र घोषणासँगै त्यस क्षेत्रमा अब सेना परिचालन हुनेछ । प्रहरी र प्रदर्शनकारीबीच बिहानैदेखि भएका झडपमा थुप्रै घाइते भएका छन् भने घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी बाराको कलैयास्थित भरत चोकमा आज प्रदर्शनकारी र प्रहरीबीचको झडपमा परी एक प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीको गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा कलैया नगरपालिका–१० रङ्गपुरका २२ वर्षीय हिफाजत मिया रहेका छन् । अहिले कलैयाको अवस्था तनावपूर्ण रहेको छ ।

Leave A Reply

Your email address will not be published.