नेपालगन्जमा निषेधाज्ञा, बर्दियामा निषेधित क्षेत्र

0

नेपालगन्ज, ८ भदौ । जिल्ला प्रशासन कार्यालय, बाँकेले आज दिउँसो २ बजेदेखि भोलि बिहान ६ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा पुनः निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद लेखकका अनुसार, नेपालगन्जको उत्तर राँझाको भुजई गाउँदेखि दक्षिण जमुनाहासम्म र पूर्वको फुलटेक्रा चोकदेखि पश्चिमको नन्दनी मिलसम्मको क्षेत्रमा निषेधाज्ञा लगाइएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा आह्वान गरिएको तराई बन्दका क्रममा यहाँ कुनै ठूलो अप्रिय घटना नघटे पनि सम्भावित दुर्घटना हुनसक्ने कुरालाई दृष्टिगत गरी स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । यसैगरी, बर्दिया जिल्लाको गुलरिया नगरपालिका र राजापुर नगरपालिकाको केही ठाउँलाई त्यहाँको स्थानीय प्रशासन कार्यालयले आज दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।
स्थानीय प्रशासन कार्यालयका अनुसार, दक्षिणमा बुढीखोलाको झोलुङ्गेपुलसम्म, पूर्वमा धोबिनपुरको पुलसम्म, पश्चिममा कर्णाली नदीको सप्पीघाट पुलसम्म र उत्तरमा डेडियासम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रजिअ विनोदबहादुर कुँवरका अनुसार ती क्षेत्रमा सभा, जुलुस, नाराबाजी, समूहमा हिँडडुल गर्न नपाइने तर नागरिकको आवतजावत हुने, व्यापार व्यवसाय सञ्चालन गर्न सकिने र सवारी साधन निर्वाध चल्न सक्नेछन् ।

Leave A Reply

Your email address will not be published.