देश टुक्र्याउँछु भन्‍नेहरू लखेटिए

0

काठमाडौं, ३० साउन । देश टुक्र्याउँछु भन्दै बुधबार थरुहटको एउटा कार्यक्रममा धम्की दिने नेपाली कांग्रेसका सभासद् अमरेशकुमार सिंह, संघीय समाजवादी फोरमका उपेन्द्र यादव र सद्भावना पार्टीका राजेन्द्र महतोको अभिव्यक्तिप्रति बिहीबार संसद्मा आपत्ति प्रकट गर्दै उनीहरूमाथि कारबाहीको माग गरिएको छ।
नयाँ संविधानमा आफूहरूले चाहेजस्तो अधिकार नपाएमा पाकिस्तानबाट बंगलादेश छुट्टिएको घटना स्मरण गराउँदै मधेस टुक्रने चेतावनी दिएका सिंह, यादव र महतो कैलालीको टीकापुरबाट बुधबार लखेटिएका थिए। मधेस र थरुहट प्रदेशले आत्मनिर्णयको अधिकार पाउने गरी स्वायत्त प्रदेश नपाए मुलुकको एकतामै आँच आउन सक्ने धारणा राखेका मधेस केन्द्रित नेताहरू स्थानीयको आक्रोशको सिकार बनेका हुन्।
एमाले उपाध्यक्ष एवं सभासद् भीम रावलले शुक्रबार संसद्मा विशेष समय लिएर कैलालीको टीकापुरमा भएको आमसभामा तरबार र खुकुरी लिएर निश्चित भूभागबाट आएर देश टुक्र्याउँछु भन्नेहरूलाई स्थानीयले लखेटेको बताए। उनले त्यसरी अभिव्यक्ति दिनेहरूलाई कारबाही गर्नसमेत सरकार तथा संसद्सँग माग गरे।
टीकापुरमा संयुक्त थारू संघर्ष समितिले बिहीबार आयोजना गरेको आमसभाको सन्दर्भ जोड्दै रावलले भने, ‘थारुहरूको अधिकार समेट्ने मागका नाममा सद्भावना पार्टीसँग संलग्न व्यक्तिले जथाभाबी आग्रह गर्न मिल्दैन। जनतालाई उत्तेजित बनाउने कार्य सभासद्बाट गर्न मिल्छ कि मिल्दैन?’
रावलले यादव र सिंहले यो मुलुकको हालत पाकिस्तान र बंगलादेशजस्तै पार्छु भन्नु दुर्भाग्यपूर्ण रहेको बताए। उनले प्रश्न गरे, ‘कांग्रेसजस्तो पार्टीले सिंहलाई त्यस्तो अभिव्यक्ति दिन निर्देशन त दिएन? ‘
संयुक्त थारू संघर्ष समितिले आयोजना गरेको सभामा कैलाली, कञ्चनपुरसहित तराईका जिल्लालाई थरुहट प्रदेशमा राख्न माग गरिएको थियो। सभामा संघीय समाजवादी फोरमका अध्यक्ष यादवले मधेसी र थारुहरूसँग विगतमा गरेको सम्झौता सरकारले बिर्सिएको आरोप लगाए। ‘पीडित थारुहरू जागेमा दलालहरू आफैं पाखा लाग्छन्,’ उनले सभामा भनेका थिए।
आफूलाई प्रमुख दल भन्न रुचाउने चार दल र तीनका शीर्ष नेताहरूले मधेसी र थारूको पहिचान गुम्ने गरी ल्याएको संविधान मान्य हुन नहुने धारणा यादवले राखे। उनले आफूहरू स्वायत्त मधेस प्रदेशका पक्षमा रहेको र उक्त माग पूरा नभए मधेश नेपालबाट अलगिन सक्ने चुनौती दिए।
आमसभामा सद्भावनाका अध्यक्ष महतोले आफूहरू थरुहटको आन्दोलनमा साथ दिन मधेसबाट आएको बताए। ‘थारू उत्पीडनको मुख्य कारण नै थारू क्षेत्रमा बसोबास गर्ने पहाडी समुदाय हो,’ उनले भने, ‘थारुहरूलाई संविधानबाट लखेट्न खोज्ने पहाडीलाई थारू बस्तीबाटै लखेट्न नपरोस्।’
महतोले संवाद समितिको प्रतिवेदन मस्यौदा समितिबाट सच्याउन आग्रह गरे। आफूहरू मधेस स्वायत्त प्रदेशका पक्षमा रहे पनि अहिले मधेस र थारु दुई प्रदेश चाहेको उनले बताए। चार दलभित्रको पहाडी बहुलताले मधेसी र थारूले मुलुकको अधिकारबाट वञ्चित हुनुपरेको धारणा महतोले राखे।
कांग्रेसका सभासद् सिंहले थरुहट प्रदेशका लागि आफूहरू जस्तोसुकै सहयोग र समर्थन गर्न तयार रहेको बताए। सिंहले भने, ‘थारू आन्दोलन सशक्त र परिणाममुखी बनाउनुको विकल्प छैन।
पहाडीहरूले बनाउने संविधानबाट थरुहट प्रदेश बन्छ भन्ने कल्पनासम्म गर्नु गलत हुनेछ।’ कैलाली र कञ्चनपुरलाई थरुहट बनाउन कसैले रोक्न नसक्ने चेतावनी दिँदै सिंहले यो रोकिएमा मुलुकको एकताकै लागि संकट आउने बताए।
– अन्नपूर्णबाट

Leave A Reply

Your email address will not be published.