राष्ट्रहितलाई सर्वोपरी ठानेर भारतसँग सम्बन्ध : पौडेल

0

काठमाडौं, २९ साउन । एमाले अध्यक्ष केपी ओलीले भौगोलिक, जनसांख्यिक, प्राकृतिक र साँस्कृतिक दृष्टिले नेपालमा ६ प्रदेश कायम गर्नु नै उचित भएको बताएका छन् । भारतको ६९औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले सीमांकनको विषयलाई लिएर हिंसा भड्काउने र संविधान जारी हुन नदिने खेलप्रति सतर्क रहन सबैसँग आग्रह गरे ।
नेपालको भूमि प्रयोग गरी छिमेकी राष्ट्रसँगको सम्बन्ध बिगार्ने कुचेस्टा गर्नेहरुप्रति पनि सचेत रहनुपर्ने उनको भनाइ थियो । आर्थिक, सामाजिक र राजनीतिक सम्बन्धको विस्तार गरी नेपाल र भारतको विकासको आकांक्षालाई पूरा गर्नेतर्फ दुबै देशको नेतृत्वले आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुपर्ने उनको सुझाव थियो । अध्यक्ष ओलीले दुबै देशको असाधारण मैत्री सम्बन्धलाई बिगारेर राष्ट्रिय एकतालाई बिथोल्ने प्रयास कुनै हालतमा सैह्य नहुने पनि उल्लेख गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रिय हितलाई सर्वोपरी ठानेर भारतसँग कुटनीतिक सम्बन्ध विस्तार गर्नुपर्ने बताए । राष्ट्रिय हितबारे मित्रराष्ट्रहरुसँग संकोच नमानी प्रस्तुत हुन सक्नुपर्ने नेता पौडेलको भनाइ थियो । संविधान निर्माणकार्य तीव्र रुपले अघि बढिरहेको बताउँदै उनले संविधानमा त्रुटि नहोस् भन्नेमा दलहरु सचेत रहेको बताए ।
यस्तै, नेपालका लागि भारतीय राजदूत रणजीत रायले आर्थिक विकास चुनौती रहेको बताउँदै दुबै देश मिलेर विकास कार्यलाई अघि बढाउनुपर्ने बताए । उनले दुई देशबीच भएको सन्धि र सम्झौता कार्यान्वयन गर्न ढिलाइ गर्न नहुने बताए ।

Leave A Reply

Your email address will not be published.