राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन आह्वान, प्रधानमन्त्रीले विश्वासको मत लिने

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।

मन्त्रिपरिषद्को आइतबारको बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले सोही प्रयोजनका लागि  प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार मन्त्रिपरिषद्‌को मिति २०७८/१/१९ को सिफारिसमा सम्माननीय प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्‍वास छ भन्‍ने कुरा स्पष्ट गर्न आवश्यक ठान्‍नु भएकोले सोही प्रयोजनका लागि नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७८ साल वैशाख २७ गते सोमबारका दिन अपरान्ह १:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नु भएको छ ।’

प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ । २७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १२१ सिट छ । नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ (पार्टी छाडेका ४ जना पदमुक्त भएपछि), जनता समाजवादी पार्टीको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १/१ सिट रहेको छ । नेपाली कांग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना निलम्बित छन् ।

Leave A Reply

Your email address will not be published.