सहमति जुटाउन दलहरुको कसरत जारी

0

काठमाडौं, २२ साउन । संविधानका विवादित विषयमा सहमति जुटाउन प्रमुख दलका शीर्ष नेताहरु शुक्रबार बिहानैदेखि छलफलमा जुटेका छन् । प्रदेशको सीमांकनका विषयमा दलहरुबीच कुरा मिल्न नसक्दा शीर्ष नेताहरु द्धिपक्षीय र बहुपक्षीय छलफलमा केन्द्रित भएका छन् । उनीहरुले सबै विषयमा शुक्रबारै सहमति कायम गर्ने प्रयास गरिरहेको बताइएको छ ।
प्रदेशको सीमांकनका विषयमा प्रमुख दलका शीर्ष नेताहरुबीच सहमति जुट्न नसक्दा शुक्रबार बस्ने भनिएको संविधानसभाको बैठक भोलिसम्मका लागि स्थगित छ ।
विहीबार भएको छलफलमा शीर्ष नेताहरुबीच अधिकांश विषयमा सहमति जुटे पनि ९ ओटा विषयमा भने अझै सहमति जुट्न सकेको छैन । मौलिक हक, धर्मलगायतका विषयमा सहमति जुटे पनि संविधानको प्रस्तावना, भाषा, प्रदेशको सीमांकन, शासकीय स्वरुपलगायत ९ ओटा विषयमा सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् ।
शीर्ष नेताहरुको अनौपचारिक छलफलबाट सहमति कायम भएपछि संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिको बैठक बस्ने तय भएको छ । नेताहरुबीच अन्य विषयमा खासै समस्या नदेखिए पनि प्रदेशको सीमांकनका विषयमा बढी विवाद छ । प्रमुख चारै दलले आ-आफ्नै सीमांकनको प्रस्ताव बैठकमा ल्याएका थिए ।
प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमाले पाँच या ६ प्रदेशमा केन्द्रित छन् भने एकीकृत माओवादी र फोरम लोकतान्त्रिक ६ या ८ प्रदेशमा जोड दिइरहेका छन् ।

Leave A Reply

Your email address will not be published.