मेराविरुद्ध दुस्प्रचार गरियो : ओली

0

काठमाडौं, १८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई दिनभित्रै संघीयताको सीमांकनको विषय टुंगिने बताएका छन् । गन्तव्य नेपाल नामक पर्यटन पत्रिकाको ११औं वार्षिकोत्सव कार्यक्रमलाई सोमबार राजधानीमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले संघीयताको सीमांकनको विषय टुंग्याउने प्रयास भइरहेको भन्दै यो विषय चाँडै टुंगो लाग्ने बताएका हुन् । उनले ‘आफूलाई प्रधानमन्त्री बन्न हतारो भयो भनेर दुस्प्रचार गरेर संविधानविरोधी तत्वले सीमांकनको विषयमा अनावश्यक विवाद झिकेको’आरोप लगाए ।
‘जुनसुकै हालतमा पनि श्रावण मसान्तभित्रै सीमांकनसहितको संविधान जारी हुने’ उनको भनाइ थियो ।
अध्यक्ष ओलीले ‘सर्वोत्कृष्ट संविधान बनाउन नसके पनि सर्वमान्य संविधान बनाउने प्रयत्नमा आफूहरु लागिपरेको’ बताए । उनले ‘श्रावण महिनाभित्रै संविधान जारी गरी भदौदेखि देशलाई विकासको बाटोमा अघि बढाउने’ प्रतिबद्धता पनि व्यक्त गरे ।
भूकम्पले नेपालको पर्यटनलाई प्रचार गरिएअनुसारको क्षति नपु-याएको भन्दै उनले यस क्षेत्रमा देखिएका विकृति हटाएर अघि बढ्न आग्रह गरे । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता एवं पर्यटन व्यवसायीले भूकम्पले क्षति पु-याएको नेपालको पर्यटन क्षेत्रलाई तत्काल पूर्ववत् रुपमा सन्चालन हुने वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गरेका थिए ।
कार्यक्रममा यो वर्षको ‘टुरिजम म्यान अफ दि यअर’ को उपाधि वरिष्ठ पर्यटन व्यवसायी विक्रम पाण्डेलाई प्रदान गरिएको थियो । त्यसक्रममा पर्यटनको विकासमा सहयोग पु-याउने केही पर्यटन व्यवसायी तथा सन्चारकर्मीहरुलाई पनि सम्मान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.