दुई साताभित्र सबैको मन जित्ने संविधान:मन्त्री बस्नेत

0

भक्तपुर, १८ साउन । उद्योग मन्त्री महेश बस्नेतले आगामी दुई साताभित्र सबैको मन जित्ने संविधान जारी हुने बताउनुभएको छ । शिक्षा मन्त्रालयअन्तर्गतका नेपाल निजामती कर्मचारी सङ्गठन, विभागीय कार्य समितिले आज शैक्षिक जनशक्ति विकास केन्द्रमा आयोजित कार्यक्रममा दुई साताभित्र सबैको मन जित्ने संविधान जारी हुने बताउनुभएको हो ।
संविधान निर्माण प्रक्रिया करिब अन्तिम चरणमा पुगेको बताउँदै उहाँले सहमतिमै सीमाङ्कनलाई समेत टुङ्गोमा पु-याएर जनताको सुझावसहित जारी हुने संविधानले सबैले जित्नेछ भन्नुभयो । तराईको विषयलाई लिएर केही मधेसवादी नेता अराजक र उदण्ड रुपमा प्रस्तुत हँुदै आएको चर्चा गर्दै उहाँले तराई, पहाड र हिमाललाई एक बनाउने गरी सीमाङ्कन हुनुपर्ने बताउनुभयो ।
नेपालका ३० लाख युवा विदेशमा रहेको र उनीहरुले पठाएको छ खर्ब रुपैयाँ बराबरको विप्रेषणले देश धानिनुपर्ने अवस्थाको अन्त्य गर्दै स्वदेशमै गुणस्तरीय शिक्षा र रोजगारीको विकास गर्नुपर्ने आवश्यकता रहेको मन्त्री बस्नेतले बताउनुभयो । शिक्षा र उद्योगलाई समन्वय गरेर उत्पादनशील सीपसहितको शिक्षा आजको आवश्यकता रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा शिक्षा सचिव विश्वप्रकाश पण्डितले नेपालको शिक्षालाई परिमार्जन गर्दै रोजगारमूलक बनाउनुपर्ने औँल्याउँदै गाउँगाउँसम्म प्राविधिक शिक्षाको पहुँच पु-याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एसएलसी २०७१ मा सङ्गठनसँग आबद्ध कर्मचारीका छोराछोरीबाट उत्कृष्ट हुने श्रीया पौडेल, सागर सुनुवार, सोनिया गौतम र प्रज्ञान गौतमलाई नगद रु पाँच हजारसहित सम्मान गरिएको थियो भन्ने एसएलसी पास हुने अन्य विद्यार्थीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा मन्त्री बस्नेत र सचिव पण्डितले सङ्गठनले प्रकाशन गरेको ‘कर्मचारी कलम’नामक स्मारिकाको विमोचन गर्नुभयो । सङ्गठनका अध्यक्ष सुशीलाकुमारी शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा विभागका महानिर्देशक डा डिल्ली रिमाल, सङ्गठनका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकाललगायतका वक्ताले शिक्षाको विकासमा चाल्नुपर्ने कदमका बारेमा चर्चा गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.