भदौ १६ बाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने, यात्रुको पीसीआर ‘नेगेटिभ’ रिपोर्ट अनिवार्य

0

काठमाण्डौ – सरकारले आगामी भदौ १६ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय उडानका क्रममा पीसीआर परीक्षण सहज भएका मुलुकहरुबाट मात्रै यात्रुहरु ल्याउन पाइने सरकारले जनाएको छ ।

शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले मलेशिया, चीन, क्यानडा, युएई, दक्षिण कोरिया, हङकङ, युरोपेली मुलुक, जापान, अष्ट्रेलिया तथा अमेरिकाबाट नियमित उडानमार्फत यात्रु ल्याउन सकिने बताए ।

तर पीसीआर परीक्षण नभएका साउदी अरब, कुवेत, कतार लगायतका देशबाट नियमित उडानबाट यात्रु ल्याउन नपाइने सरकारले निर्यण गरेको छ । त्यहाँको दूतावासले परीक्षण गरेको अवस्थामा मात्र उद्धार गरेर ल्याउने खतिवडाले जानकारी दिए ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै खतिवडाले भने, ‘पीसीआर परीक्षणको व्यवास्था नभएको देशबाट नियमित ल्याउन नपाउने, सम्बन्धित दूतावासको सिफारिसमा मात्र ल्याउन पाइने । विमान उड्नुभन्दा कम्तिमा ७२ घण्टा अघिको पीसीआर नेगेटिभ रिपोर्ट चाहिन्छ ।’

विदेशबाट आउनेले कम्तिमा १४ दिन क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने निर्णय पनि सरकारले लिएको छ ।

सरकारको निर्णय बमाेजिम मात्रै यात्रुहरु ल्याउन पाइने छ । मन्त्री खतिवडाले भने, ‘नेपाल सरकारको निर्णय बमोजिम नेपाल आउन चाहने नेपाली नागरिक, विदेशी नियोगका कुटनीतिज्ञ र कर्मचारी, संयुक्त राष्ट्र संघ, विकाश साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिहरुलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान गर्न पाइने छ ।’

पर्यटन मन्त्रालयले जारी गरेको कार्यतालिका अनुसार प्रत्येक दिन पाँच सयजनाका दरले नेपाल वायु सेवा निगम वा निजी क्षेत्रका विमानमार्फत ल्याइनेछ ।

Leave A Reply

Your email address will not be published.