‘प्रधानसेनापति बिनाको राष्ट्रिय सुरक्षा परिषद् अपूर्ण’

0

काठमाडौं, ६ साउन । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानसेनापति बिनाको राष्ट्रिय सुरक्षा परिषद् अपूर्ण हुने भन्दै परिषद्मा प्रधानसेनापति हुनैपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियनले ३३औं बिपी स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘नयाँ संविधानमा हाम्रो सरोकार’ विषयक कार्यक्रममा नेता देउवाले संविधानको मस्यौदामा प्रधानसेनापति बिनाको सुरक्षा परिषद् भएकाले त्यसलाई सच्याउनुपर्ने बताउनुभयो । संविधान जारी गर्ने क्रममा लोकतन्त्रका मूलभूत मान्यतामा कसैसँग सम्झौता नहुने बताउँदै नेता देउवाले भन्नुभयो, “प्रेस स्वतन्त्रता बिनाको लोकतन्त्र दिगो हँदैन ।”
मस्यौदामाथि आएका जनताका महत्वपूर्ण सुझावलाई आत्मसात् गर्नुपर्ने बताउँदै नेता देउवाले प्रेस स्वतन्त्रताका सम्बन्धमा सञ्चार क्षेत्रबाट आएका सुझावलाई नै पास गरिने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् अर्जुननरसिंह केसीले काँग्रेसमा विचार र आदर्शको खडेरी भएका बेला बिपीको चिन्तन, आदर्श र विचारले पथप्रदर्शक गरेको बताउनुभयो ।
मुलुकका हरेक लोकतान्त्रिक आन्दोलनको नेतृत्व लिएको काँग्रेस पार्टीमा आन्तरिक लोकतन्त्रको विकास हुन नसकेको बताउँदै नेता केसीले काँग्रेसमा रहेकोे ६०÷४० को भागबन्डाले पार्टी छिन्नभिन्न भएकाले यसलाई तोड्नुपर्छ भन्नुभयो ।
सञ्चारकर्मीले सत्ताको भन्दा पनि सत्य कुरा लेख्नुपर्ने आग्रह गर्दै उहाँले संविधानको मस्यौदामा अनगिन्ती त्रुटि रहेकाले त्यसलाई सच्याउनुपर्नेमा जोड दिनुभयो ।
काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् नवीन्द्रराज जोशीले प्रेस स्वतन्त्रता बिनाको प्रजातन्त्र अपूरो हुने भनी बिपीले व्याख्या गरेको स्मरण गर्दै संविधानसभाबाट संविधान बनाउने बिपीको सपना पूरा हुन लागेकामा खुसी व्यक्त गर्नुभयो ।
बिपीले जनतालाई स्वतन्त्रता दिलाउन ज्यानको बाजी लगाएको स्मरण गर्दै नेता जोशीले बिपीले आफँैले सिद्धान्त प्रतिपादन गरी कार्यान्वयनका लागि आन्दोलनको अग्रमोर्चामा उभिनुभएको बताउनुभयो ।
वरिष्ठ पत्रकार पुरुषोत्तम बस्नेतले बिपीले आफ्नो शासनकालमा पत्रपत्रिकालाई प्रोत्साहन दिई नगद सहुलियतको व्यवस्था गर्नुका साथै आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, वैदेशिक सम्बन्धलगायतका क्षेत्रमा क्रान्तिकारी काम गर्नुभएको उल्लेख गर्नुभयो ।
राष्ट्रिय सूचना आयोगका आयुक्त किरणकुमार पोखरेलले दिगो लोकतन्त्रका लागि सूचनाको हकलाई स्तरोन्नति गर्नुपर्ने बताउँदै विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सीमा निर्धारण गर्न नहुने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार हरिहर विरही, युनियनका अध्यक्ष बद्री सिग्देल, युनियनका पूर्व अध्यक्ष हरि अधिकारी, युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष ईश्वरी ओझाले बिपीका विचार र आदर्श आज पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.