काठमाण्डौं – संस्थापनइतर समूहका जिल्ला सभापति परामर्श बैठकपछि बिहिबार पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् । जिल्ला सभापतिहरुलाई देउवाले चुनाव हारेकाहरुले भेला गर्दैमा १४ औं महाधिवेशनको महाधिवेशनको मिति हेरफेर हुन नसक्ने जवाफ दिएका छन् ।
तपाईंहरुसँग चुनाव हारेकाहरुले भेला गरे के हुन्छ ? भन्ने प्रश्नसमेत गरेका छन् । पार्टीमा विधि, पद्धतिलाई पनि ख्याल गर्नुपर्ने भन्दै उनले एक पक्षीय सभापतिहरुले भेला गरेकोमा असन्तुष्टि जनाएको सहभागी एक जिल्ला सभापतिले चारदिशालाई जानकारी दिए । जवाफमा जिल्ला सभापतिहरुले पार्टीप्रति चिन्ता र चासो लागेर काठमाडौंमा भेला भन्दै पार्टीलाई एक बनाउन आग्रह गरेका थिए ।
भेटमा देउवाले पार्टीलाई सहमतिकै आधारमा अघि बढाउन आफू तयार रहेको बताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग लगातार छलफल गर्दा पनि सहमति हुन नसकेपछि अनिर्णयको बन्दी बनाउनु हुँदैन भनेर पुस ११ गते निर्णय गरेको उनले बताए । अहिले पनि सम्वाद गर्न र सहमतिका आधारमा अघी बढ्न आफू तयार रहेको देउवाले बताएको रोल्पाका सभापति अमरसिंह पुनले जानकारी दिए ।
देउवाले महाधिवेशनको मिति २०७७ फागुन ७ भने परिर्वतन नहुने प्रष्ट पारेका छन् । त्यो मिति कायम राखेर अरु कार्यतालिका मिलाउन र क्रियाशील सदस्यता छानबिनका लागि समिति बनाउन तयार रहेको देउवाको भनाइ रहेको पुनले बताए ।
भेटमा उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्कालगायतको नेताहरु पनि सहभागी थिए । देउवालाई भेट्न संस्थापनइतर समूहका ५२ जिल्ला सभापतिहरुको सहभागीता रहेको थियो ।