काँग्रेसलाई उपनिर्वाचनमा उम्मेदवार छान्ने सकस, कास्कीमा अन्य दलको टुङ्गो लाग्दा काँग्रेसका १६ आकांक्षी

0

पोखरा – आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न नेपाली काँग्रेसभित्र सकस भएको छ । पार्टीको विधानअनुसार उम्मेदवार छनोट नगर्ने र सम्बन्धित निर्वाचन क्षेत्रबाट आएका उम्मेदवारलाई टिकट नदिई केन्द्रीय नेतृत्वले आफ्नो खल्तीका नेतालाई टिकट दिने परम्परा कायम रहँदा यस्तो सकस देखिएको हो ।

पार्टीको विधान मिचेर उम्मेदवार छनोट गर्ने अभ्यास केन्द्रीय नेतृत्वबाट विगतमा सुरु भएपछि यस पटक जिल्ला नेतृत्वबाट पनि सोही अभ्यास अपनाइएको भनाइ जिल्ला सभापतिहरूको छ ।उपनिर्वाचनमा स्थानीय तह, प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिश गर्न क्षेत्रीय समितिले बढीमा तीनजनाको नाम पठाउनुपर्नेमा १६ जनासम्मको नाम पठाएको छ । विधानमा तीनजनाको नाम पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

कास्कीको क्षेत्र नं. २ बाट निर्वाचित रवीन्द्र अधिकारको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि हुन लागेको उपनिर्वाचनमा काँग्रेसले १६ जनाको नाम पठाएको छ । काँग्रेस कास्कीका सभापति कृष्ण केसीका अनुसार, क्षेत्रीय सभापति माधव बाँस्तोलादेखि पूर्वउम्मेदवार देवराज चालिसेसम्मको नाम सिफारिस भएको छ ।

यस्तै, वीरेन्द्रनारायण बिजुक्छे, खेमराज पौडेल, सोभियत अधिकारी, केशर निर्दोषी, ऋषि काफ्ले, लक्ष्मी पाण्डे, रङ्गिला आचार्य, खिमकुमारी बराल, विजयराज आचार्य, गुरु बराल, कृष्ण कार्की, महादेव गुरुङ, विमला भण्डारी र निर्मलप्रसाद कर्माचार्यको नाम केन्द्रमा पठाएको छ ।

जब कि सो क्षेत्रमा सत्तारुढ नेकपाले स्वर्गीय अधिकारीकी श्रीमती विद्या भट्टराईको एक मात्र नाम पठाएको छ । काँग्रेसको क्षेत्र नं. २ मा दुई धारबीच सहमति नभएपछि सबैको नाम पठाइएको जानकारी सभापति केसीले दिए । उनले पूर्वउम्मेदवार चालिसेको एकल नाम पठाउनेबारेमा छलफल भए पनि सहमति नभएको बताए ।

भक्तपुर जिल्लाको प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएपछि हुन लागेको उपनिर्वाचनमा काँग्रेसले १० जनाको नाम सिफारिस गरेको जानकारी जिल्ला सभापति दुर्लभ थापाले दिए । क्षेत्रीय सभापति जीवन खत्रीले आफू उम्मेदवार नहुने घोषणा गरे पनि सहमतिमा तीनजनाको नाम सिफारिस हुन सकेन । विनोद कायस्थ, सुरेश श्रेष्ठ, यादव अधिकारी, सुभद्रा काफ्ले, हरि नेपाल, मनोजकुमार थापा, कृष्णलाल भँडेल, किरण न्यौपाने, रूपादेवी थापा र उद्धव खड्काको नाम सिफारिस भएको छ ।

उता गण्डकी प्रदेशअन्तर्गत बागलुङ जिल्लाका टेकबहादुर घर्तीको निधनपछि रिक्त भएको प्रदेशसभा सदस्य पदका लागि क्षेत्रीय सभापति द्रोण कुँवर, टुनासिन घर्तीमगर, टेकराज पौडेल र जिप शेरचन गरी चारजनाको नाम पठाएको जानकारी जिल्ला सभापति दीपेन्द्र थापाले दिनुभयो । उहाँले जिल्ला कार्य समितिले केन्द्रलाई राय मात्रै दिने हो, नाम हेरफेर गर्न मिल्दैन भने ।

गण्डकी प्रदेशको दाङ जिल्लाका प्रदेशसभा सदस्य उत्तरकुमार अलीको मृत्यु भएपछि रिक्त स्थानमा उपनिर्वाचनका लागि काँग्रेसले १४ जनाको नाम केन्द्रमा पठाएको छ । जिल्ला सभापति कीर्तिबहादुर खड्काका अनुसार, किरण साह, केशवराज शर्मा, खिमप्रसाद खराल, चूणामणि ढकाल, जगत खड्का, टीका घर्ती, भरत केसी, मदन रसिक, शङ्करप्रसाद डाँगी, सुरेश हमाल, घनश्याम सेरपाइली, कच्चु चौधरी, गीता पौडेल र सारा भण्डारीको नाम सिफारिस भएको छ ।

भक्तपुरका सभापति दुर्लभ थापाले क्षेत्रबाट सहमतिमै तीनजनाको नाम पठाए पनि केन्द्रीय नेताले खल्तीबाट निकालेर अन्य व्यक्तिलाई नै उम्मेदवार बनाउने अभ्यास रहेकाले प्रदेश निर्वाचन क्षेत्रबाट जेजस्ता नाम आए त्यसलाई नै केन्द्रमा पठाएको हो भने ।

स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरका प्रमुख तारा सुब्बाको निधनपछि हुने उपनिर्वाचनमा काँग्रेसले पूर्व उम्मेदवार किरण राईको एकल नाम पठाएको छ । जिल्ला सभापति राजीव कोइरालाले नेता राईको नाम नगरसमिति र क्षेत्रीय समितिबाट सर्वसम्मतरूपमा आएकाले जस्ताको त्यस्तै केन्द्रमा पठाएको बताए ।

उम्मेदवार छनोट गर्न बिहीबार बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक जिल्लाबाट धेरैजनाको नाम आएपछि छलफल नै नगरी कात्तिक १४ गते बस्ने जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले दिए । अब काँग्रेसले जिल्ला सभापति सभापतिहरूलाई नै ध्यानाकर्षण गराउने जनाएको छ । धेरैजनाको नाम आएपछि केन्द्रले तीनजनाको मात्रै नाम पठाउन जिल्लालाई नै पुनः पत्राचार गर्ने अन्तिम तयारी गरेको जानकारी पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए ।

Leave A Reply

Your email address will not be published.