ट्रम्पविरुद्ध महाअभियोग लगाउने औपचारिक प्रक्रिया सुरु

0

काठमाण्डौं – अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गरेको छ।

तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीको छवी खराब गराउनका लागि विदेशी शक्तिको सहयोगका लागि आग्रह गरेको आरोपबारे औपचारिक छानबिन सुरु गर्ने निर्णय भएको बताएकी छन् । राष्ट्रपति जिम्मेवार हुनु पर्ने र त्यसकै लागि अनुसन्धान सुरु गरिएको उनले बताएकी छन् ।

राष्ट्रपति ट्रम्पले आफूले कुनै पनि किसिमको गलत आग्रह वा प्रयास नगरेको दाबी गर्दै डेमोक्र्याटिक पार्टीको बहुमत रहेको हाउस अफ रिप्रिजेन्टेटिभमा थालिएको अनुसन्धान प्रक्रिया ‘फोहोरी’ प्रयास रहेको बताएका छन् । महाअभियोग प्रक्रियाको अनुसन्धानमा डेमोक्र्याटिक पार्टीको बलियो समर्थन छ । यो प्रक्रिया अघि बढेमा रिपब्लिकनको नियन्त्रण रहेको माथिल्लो सदन सिनेटबाट पारित हुने सम्भावना लगभग छैन ।

गएको शुक्रबारदेखि विभिन्न सञ्चारमाध्यम र पत्रपत्रिकामा अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेर पूर्व उपराष्ट्रपति जो बाइडेनमाथि अनुसन्धान गर्न आग्रह गरेको खबर प्रकाशित भएको थियो ।

ट्रम्पले युक्रेनका राष्ट्रपतिसँग टेलिफोनमा कुराकानी भएको बताएका छन् र उनले जो बाइडेन भ्रष्टाचारी रहेको पनि आरोप लगाएका छन् । बाइडेनले उपराष्ट्रपति रहेका बेला आफ्ना छोरा हन्टरमाथि युक्रेनमा लागेको आरोपको अनुसन्धान रोक्ने भूमिका खेलेको आरोप ट्रम्पले लगाएका हुन् । बाइडेनले आरोप अस्वीकार गर्दै ट्रम्प र जेलेन्स्कीबिच भएको टेलिफोन वार्ताको ट्रान्स्क्रीप्ट सार्वजनिक गर्न माग गरेका छन् ।

ट्रम्प र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबिच भएको खास कुराकानी अझै थाहा भएको छैन । तर ट्रम्पले पूर्व उपराष्ट्रपति तथा आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा सबैभन्दा अघि रहेका जो बाइडेन र उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन गर्न युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई दबाब दिएको बताइएको छ ।

जो बाइडेन र हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान सुरु नगरेमा अमेरिकाले युक्रेनलाई दिने सैन्य सहयोग रोक्ने चेतावनी ट्रम्पले दिएको आरोप छ ।

ट्रम्पले आउँदो वर्ष हुने चुनावमा आफ्नो प्रतिस्पर्धा हुन सक्ने बाइडेनको राजनीतिक छबी धुमिल पार्न झुट आरोपमा अनुसन्धान थाल्नका लागि विदेशी शक्तिलाई दबाब दिएको र आफ्नो पदको दुरुपयोग गरेको आरोप लागेको छ ।

ट्रम्पले गएको जुलाई २५ मा युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग टेलिफोनमा वार्ता गरेका हुन् । ट्रम्पले मंगलबार ट्वीट गरेर जेलेन्स्कीसँगको टेलिफोन वार्ता पूर्ण रुपमा सौहार्द रहेको र आफूले कुनै पनि किसिमको दबाब नदिएको दाबी गरेका छन् ।

तर तल्लो सदनकी सभामुख एवम् शीर्ष डेमोक्र्याटिक नेतृ न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पले कानूनको उल्लंघन गरेको र संवैधानिक जिम्मेवारीलाई भुलेको आरोप लगाएकी छन् । आफूलाई राजनीतिक फाइदा हुने प्रक्रिया सुरु गर्नका लागि ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग आग्रह गर्नु पदको दुरुपयोग रहेको उनले बताएकी छन् ।

अमेरिकाको संविधानमा पदको दुरुपयोग गर्ने राष्ट्रपतिलाई पदबाट हटाउनका लागि महाअभियोग लगाउन सक्ने व्यवस्था छ । देशद्रोह, भ्रष्टाचार या अरु उच्च अपराध र कुकर्म गरेको प्रमाणित भएमा महाअभियोग मार्फत राष्ट्रपतिलाई हटाउन सक्ने प्रावधान संविधानमा छ । तर यसको स्पष्ट अर्थ भने छैन ।

Leave A Reply

Your email address will not be published.