नेकाको माग पूरागर्न गृहकार्य

0

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उठान गरेको माग कुन विधि र प्रक्रियामार्फत कसरी सम्बोधन गर्ने भन्ने उपाय खोजी गर्न गठित कार्यदलले गृहकार्य गरेको छ । गृहकार्यभित्र के छन् भन्ने कुरा कार्यदलले सार्वजनिक गरेको छैन । आफूहरुले गरेका कार्यलाई आफ्ना माउ नेतासित आजै दिउँसो ३ः३० बजे बसी छलफल गरेर मात्र सार्वजनिक गर्ने कार्यदलले जनाएको छ ।
आज बिहान बसेको कार्यदलको बैठकले सत्तारुढ र प्रतिपक्षी दल दुवैको ‘विन विन’ अवस्था सो गृहकार्यमा रहेको बुझिएको छ । प्रतिपक्षी दल नेकाले भूकम्पपीडित जनतालाई आवास निर्माण गर्न एकमुष्टरुपमा रु दुई लाख अनुदान दिनुपर्ने र दुई प्रतिशत ब्याजदरमा रु १५ लाख र २५ लाख दिनुपर्ने माग सदनमा उठान गरेको छ । सरकारको तर्फबाट ती माग पूरा गर्न लिखित प्रतिबद्धता नआएसम्म सदन चल्न नसक्ने भन्दै उसले पाँच दिनदेखि व्यवस्थापिका–संसद् अवरुद्ध गर्दै आएको छ ।
कार्यदलको गृहकार्यमा शीर्ष नेतृत्व तहमा सहमति जुटेमा सदन आजदेखि नै सञ्चालन हुनेछ । सदनको आजको बैठक ३ः३० बजे बोलाइएको छ । नेकाका ती माग कसरी सम्बोधन गर्ने र अवरुद्ध सदनलाई सञ्चालन गर्न गृहकार्यका लागि सोमबार सत्तापक्ष र प्रमुख प्रतिपक्षी दुवै दलका दोस्रोपुस्ताका नेता सहभागी एक कार्यदल गठन गरिएको थियो ।
कार्यदलमा प्रमुख प्रतिपक्षी दलका तर्फबाट पूर्वमन्त्री कृष्णप्रसाद सिटौला, नेका संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेता डा प्रकाशशरण महत तथा सत्तारुढ दलका तर्फबाट नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री भीम रावल, नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता दिलनाथ गिरी रहनुभएको थियो ।
बैठकपछि उपनेता नेम्वाङले नेकाले उठान गरेको माग सम्बोधन गर्न कार्यदलले गृहकार्य गरेको जानकारी दिँदै सो गृहकार्यलाई कार्यदलले शीर्ष नेताहरुलाई आज दिउँसो जानकारी गराउने बताउनुभयोे । उहाँले गृहकार्यभित्र के छन् भन्ने कुरा भने सार्वजनिक गर्न चाहनुभएन ।
प्रमुख प्रतिपक्षी दलका नेता डा प्रकाशशरण महतले बैठकपछि आफ्ना मागलाई सम्बोधन गर्न सत्तापक्ष सहमतिको नजिक पुगेको सञ्चारकर्मीसित बताउनुभयो । उहाँले भूकम्पपीडित जनताको समस्याप्रति सबै गम्भीर बन्नुपर्छ भन्नुभयो ।
उपप्रधानमन्त्री भीम रावलले प्रमुख प्रतिपक्षी दलका माग सम्बोधन गर्न सहमतिको नजिक पुगेको सङ्क्षिप्त प्रतिक्रिया बैठकपछि दिनुभयो । व्यवस्थापिका–संसद् भवन सिंहदरबारमा कार्यदलको सो बैठक करिब दुई घन्टा बसेको थियो ।

Leave A Reply

Your email address will not be published.