कांग्रेस संसदीय दलको कार्यसमितिमा पनि देउवापक्ष हाबी

0

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति निर्वाचनको परिणाममा चार पदबाहेक सबै पदमा सभापति शेरबहादुर देउवापक्षका विजयी भएका छन् । रामचन्द्र पौडेल समूहबाट चारजनामात्र विजयी भएका हुन् । २१ सदस्यका लागि भएको निर्वाचनमा देउवा पक्षका १७ उम्मेदवार विजयी भएका हुन् । जातीय आरक्षणतर्फ खसआर्य पुरुषबाहेक सबैमा देउवा समूह विजयी भएका छन् । प्रदेशतर्फ भने पौडेल समूहका तीनजना विजयी भएका छन् ।
पिछडिएको क्षेत्रबाट भने राजिवविक्रम शाह निर्विरोध निर्वाचित भएका थिए । पौडेल समूहबाट जातीय आरक्षणतर्फ खसआर्य पुरुषमा राजन केसी विजयी भएका हुन् । केसीले देउवा समूहका बुद्धिराम भण्डारीलाई हराएका हुन् । यस्तै, प्रदेशअन्तर्गत् पौडेल समूहबाट १ मा दीपक खड्का, ४ मा रामचन्द्र पोखरेल र ७ मा भरतबहादुर खड्का विजयी भए ।
यसअघि शुक्रबारै बिहान नेपाली कांग्रेस संसदीय दल कार्यसमिति सदस्य चयनका लागि सिंहदरवारमा निर्वाचन भएको थियो । २१ सदस्यीय कार्यसमितिका लागि ४२ जनाबीच प्रतिस्पर्धा गरेका थिए । विद्युतीय मतदान भएकाले चाँडै परिणाम आएको हो । संसदीय कार्यसमितिका लागि पनि सभापति शेरबहादुर देउवा पक्षधर सांसद र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर सांसद प्यानलसहित चुनावी प्रतिस्पर्धा गरेका थिए । सात प्रदेशबाट सातजना, मधेसी तीन, जनजाति चार, खसआर्य तीन, दलित दुई, मुस्लिम एक र थारु एकजनाका लागि निर्वाचन भएको हो । संसदीय दलको उपनेता, प्रमुख सचेतक, सचेतक र नौजना कार्यसमिति सदस्य संसदीय दलको नेताले मनोनयन गर्ने व्यवस्था छ ।

Leave A Reply

Your email address will not be published.