अर्को निर्वाचन नभएसम्म यो सरकार

0

विराटनगर । उपप्रधानमन्त्री कमल थापाले वर्तमान सरकार अर्को संसदको निर्वाचन नभएसम्म रहने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भारत भ्रमण उपलब्धिमूलक रहेको जानकारी गराउनुभयो । उपप्रधानमन्त्री थापाले भ्रमणको माध्यमबाट दुवै देशबीचको असमझदारी, तिक्तता र चिसोपन हटेको चर्चा गर्दै यसबाहेक थुप्रै विषयमा समझदारी भएको स्पष्ट पार्नुभयो ।
संयुक्त विज्ञप्ति नआएको सम्बन्धमा पत्रकारहरुको जिज्ञासामा उहाँले भन्नुभयो,“भेटघाटको विषयलाई जनस्तरमा ल्याउन संयुक्त विज्ञप्ति र अर्को पत्रकार सम्मेलन रहेकामा पत्रकार सम्मेलनको माध्यमबाट समझदारीका विषय जनस्तरमा ल्याइएको हो ।”
उहाँले यसअघि भारतमै अमेरिकाका राष्ट्रपति र चीनियाँ राष्ट्रपतिको पनि पत्रकार सम्मेलनकै माध्यमबाट जानकारी गराइएकाले संयुक्त विज्ञप्ति नआउनेलाई अन्यथा नलिन आग्रह गर्नु भयो । मधेसको समस्या समाधानका लागि गठित राजनीतिक समितिका संयोजकसमेत रहनु भएका उहाँले मधेसको समस्या समाधानका लागि मधेसी मोर्चासँग छलफल गरी कार्य अगाडि बढाइने बताउनुभयो । उहाँले स्थानीय निकायको निर्वाचन गराउन सरकार तत्पर रहेको र यसका लागि दुईवटा ऐन संशोधनको प्रक्रियामा रहेको उल्लेख गर्नु भयो ।

Leave A Reply

Your email address will not be published.