युवा खेलाडीले मुलुकको प्रतिष्ठा बढाएः नेता पौडेल, देउवा

0

काठमाडौं । नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले १२औँ दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा स्वर्णपदक विजेता नेपाली टिमलाई बधाई तथा शुभकामना दिनुभएको छ । कावा सभापति पौडेलले आज एक विज्ञप्ति जारी गरी साग खेलकुदमा २३ वर्षपछि प्राप्त जितले नेपालको शिर उँचो बनाएको भन्दै खेलाडी, प्रशिक्षक एवम् खेलसँग सम्बन्धित सबै सरोकारवाला पक्षलाई आफ्नो व्यक्तिगततर्फबाट र काँग्रेस पार्टीका तर्फबाट बधाई ज्ञापन गर्नुभएको छ ।
उहाँले सागको महिला फुटबल टिम पनि फाइनलसम्म पुग्न सफल भएकोमा बधाई दिँदै आगामी दिनमा अझै राम्रो हुँदै जाने अपेक्षा गर्नुभएको छ । विज्ञप्तिमा सागमा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई पनि बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।
सोमबार नेपाल र भारतबीच भएको पुरुषतर्फको फुटबलमा नेपालले भारतलाई २–१ ले पराजित गर्दै स्वर्ण पदक हात पारेको थियो । यसैगरी, नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पनि आज एक शुभकामना सन्देश दिँदै खेलाडी र तिनका प्रशिक्षकले देखाएको प्रतिभाले राष्ट्रलाई नै गौरवान्वित बनाएको बताउनुभएको छ ।
तेइस वर्षपछि फुटबलमा स्वर्ण जितेर नेपाली युवा टोलीले नेपालको प्रतिष्ठा बढाएको बताउँदै उहाँले हिजोको विजयले भविष्यमा अरु ठूला उपलब्धि हासिल गर्न सकिन्छ भन्ने भरोसा जगाएको उल्लेख गर्नुभएको छ । वरिष्ठ नेता देउवाले सागका अन्य खेलमा पनि स्वर्ण, रजत तथा कास्यलगायत पदक जित्ने खेलाडीहरुलाई पनि बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.