राजनीतिक भेटघाटमा प्रचण्ड सक्रिय

0

काठमाडौं, २४ मंसिर । व्यवस्थापिका–संसदमा लामो समयदेखि जारी अवरोध खुलाउन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सक्रियता देखाएका छन् । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका अध्यक्ष दाहालले विहीबार बिहानैदेखि छलफल र भेटघाटलाई तीव्रता दिएका हुन् । लामो समयदेखि तराई–मधेसमा जारी आन्दोलन, भारतको अघोषित नाकाबन्दी तथा सदन अवरोधका कारण जनताको धारणा औपचारिक रुपमा सदनमा आउन नसकेको सन्दर्भमा विहीबारको बैठक चलाउने ध्येयकासाथ उनले भेटघाट तथा छलफललाई निरन्तरता दिएका हुन् ।
अध्यक्ष दाहालले विहीबार बिहानै नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलासँग छुट्टाछुट्टै छलफल गरेका थिए । सो भेटमा विहीबार अपराह्न ३ बजे डाकिएको व्यवस्थापिका–संसदको बैठकलाई सन्चालन गराउने विषयमा कुराकानी भएको बुझिएको छ ।
यस्तै, अध्यक्ष दाहालले विहीबारै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापा र तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि भेटवार्ता गरेका छन् । अध्यक्ष थापासँग भेटवार्ता गरेर अध्यक्ष ठाकुरलाई भेट्न अध्यक्ष दाहाल उनको निवास भक्तपुर पुगेका थिए । सदनको अवरोध खुलाउने विषयमा दाहाल र ठाकुरबीच छलफल भएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए ।
लामो समयदेखि सदनको कारबाही अवरुद्ध हुँदा भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक र संविधान संशोधन विधेयक अगाडि बढ्न सकेका छैनन् । व्यवस्थापिका–संसदको विधायन समितिले बुधबार मात्रै भूकम्पपछिको पुनःनिर्माण विधेयकलाई पारित गरेको छ । तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले सदनमा पेस गरेको संविधान संशोधन विधेयकसमेत अगाडि बढ्न सकेको छैन ।

Leave A Reply

Your email address will not be published.