दुई राप्रपा नेता एकैठाउँमा

0

डेढ वर्षपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको दुबै पक्षका नेताहरु चाबहिलस्थित केन्द्रीय कार्यालयमा उपस्थित भइ कार्यक्रम गरेका छन् । राप्रपा र राष्ट्रिय जनशक्ति पार्टी एकताका समयमा भएको सहमति पालना नभएको भन्दै पूर्वप्रधानमन्त्री एवं पार्टी नेता लोकेन्द्रबहादुर चन्दलगायतले समानान्तर पार्टीको काम गर्दै आएका थिए । आलोपालो प्रणालीबाट अध्यक्ष चलाउने सहमतिपछि दुई साताअघि विवाद मिलेको थियो । विवाद मिले पनि चन्द पक्ष कार्यालयमा गएको थिएन ।
पार्टी केन्द्रीय समितिले बुधबार आयोजना गरेको तीन केन्द्रीय सदस्यलाई शपथग्रहण गराउने कार्यक्रममा दुबै पक्षका नेताहरु एकसाथ उपस्थित भइ पार्टी एक भएको घोषणा गरेका छन् । कार्यक्रममा अध्यक्ष पशुपतिशमशेर राणाले मुलुकमा मजबुत शक्तिको आवश्यकता भएकाले सबै राष्ट्रवादी शक्ति एक हुनुपर्ने बताए ।‘बहालवाला शक्तिले देशको हाँकलाई सामना गर्न नसकेकाले वैकल्पिक शक्तिका रुपमा राष्ट्र«वादी शक्ति एक हुने समय आएको छ, यस्तो शक्तिले मात्र नाकाबन्दीबाट भएको पीडा कम गर्न सक्छ’–उनले भने ।
स्थानीय निकायको निर्वाचन गराउन गाउँगाउँबाट दबाब दिइनुपर्नेमा पनि उनले जोड दिए । भूकम्पपीडित र मधेसका समस्या समाधान गर्न सरकार असफल भएको टिप्पणी अध्यक्ष राणाको थियो । कार्यक्रममा नेता चन्दले नेपाली जनता राष्ट्रियता र स्वाधीनताका लागि जस्तोसुकै कष्ट सहन तयार छन् भन्ने नाकाबन्दीबाट प्रमाणित भएको बताए ।
‘वर्तमान संकटबाट पार पाउन नयाँ राजनीतिक शक्तिको आवश्यकता छ, राप्रपा एकढिक्का भइ अब त्यो ठाउँ लिनुपर्छ, यसका लागि टाउको मात्र मिलेर हुन्न, हाम्रो मन पनि मिल्नुपर्छ’–उनले भने । महामन्त्री एवम् पार्टी संसदीय दलका नेता दीपक बोहराले वैकल्पिक राष्ट्र«वादी प्रजातान्त्रिक शक्ति निर्माणका लागि राप्रपा नेपालसँग पनि एकीकरण गरिनुपर्ने बताए । सो अवसरमा नव मनोनीत केन्द्रीय सदस्यत्रय दिलविकास राजभण्डारी, विन्देश्वर यादव र पदमबहादुर तामाङलाई अध्यक्ष राणाले शपथग्रहण गराएका थिए ।

Leave A Reply

Your email address will not be published.