अमेरिकी राष्ट्रपतिको मतदान सुरु : मैदानमा ह्यारिस र ट्रम्प

0

अमेरिका \  विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतीय निर्वाचन आज मङ्गलवार हुँदैछ । अमेरिकी समय अनुसार मङ्गलवार बिहान ६ः३० बजेदेखि साँझ ७ः३० सम्म मतदान गर्ने समय तोकिएको छ ।

यद्यपि सोमवार साँझसम्म करिब आठ करोड मतदाताले स्वयं उपस्थित भएर वा हुलाकमार्फत अग्रिम मतदान गरिसकेको समाचारपत्रहरुले जनाएका छन् । निर्वाचनअघि नै यति धेरै प्रतिशत मतदान भएको यो दोस्रो पटक हो । निर्वाचनमा कसले बाजी मार्ने हो र ह्वाइट हाउसको यात्रा तय गर्ने हो भन्ने बारेमा विश्वभर चर्चा र परिचर्चा चलिरहेको छ । यति मात्र होइन, अमेरिकाको राष्ट्रपतिको निर्वाचनले विश्व राजनीति र अर्थतन्त्रमा निकै ठूलो असर पार्ने भएकाले पनि विश्वभरका मानिस अमेरिकाको यो चुनावलाई गहिरिएर हेरेका छन् ।

अमेरिकामा करिब २४ करोड मतदाता छन् । दुवै पक्षका मतदाताहरु ज्यादा उत्साहित भएकाले यो पटक हालसम्मकै सर्वाधिक मतदान हुने अनुमान गरिएको छ ।

अमेरिकी राष्ट्रपतिको लागि डेमोक्रेटिक पार्टीका तर्फबाट एसियन अमेरिकन मूलकी वर्तमान उपराष्ट्रपति कमला ह्यारिस (६० वर्ष) र रिपब्लिकन पार्टीका तर्फबाट पूर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्प (७८) चुनावी मैदानमा उत्रिनुभएको छ ।

हुनत यी दुई बाहेक लिबरटेरियन पार्टीका तर्फबाट चेज ओलिभर, ग्रिन पार्टीका तर्फबाट जिल स्टेन, कन्टिच्युसन पार्टीका तर्फबाट र्याण्डल टेरी र जस्टिस फर अल पार्टीका तर्फबाट कर्नेल वेष्ट गरी छ जना राष्ट्रपतिको उम्मेदवारका रुपमा रहनुभएको छ । तर पछिल्ला चारजनाको उम्मेदवारी केवल पार्टीको नामका लागि मात्र रहेको बताइन्छ ।

उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमध्ये विश्वको ध्यान केन्द्रित यो निर्वाचनमा कसले बाजी मार्ला त ? यो प्रश्नले विश्व भूराजनीति तरङ्गित भइरहेको छ । सोमवार साँझसम्म दुवै उम्मेदवारहरु चुनावी प्रचार प्रसारका लागि आआफ्ना एजेण्डा बोकेर मतदाताको घरदैलो अभियानमा सक्रिय हुनुभएको थियो ।

उहाँहरु दुवैजनाको दौडधूप अन्यत्रभन्दा पनि खासगरी स्विङ स्टेट अर्थात् डेमोक्रेटिक पार्टी र रिपब्लिकन पार्टी दुवैमा संलग्न नभएका तर उम्मेदवारको कार्यशैली र एजेण्डा हेरेर मतदान गर्ने भएकोले यी राज्यलाई स्विङ स्टेट अर्थात् युद्ध मैदान राज्य भन्ने गरिन्छ ।

किनकि यहाँका मतदाता अनिर्णित मतदाता हुन् । यी सातवटा राज्यका मतदाताले राष्ट्रपतिको निर्वाचनको परिणामलाई उलटफेर गर्नसक्छन् । किनकि यिनीहरुले कहिले डेमोक्रेटिक पार्टीलाई त कहिले रिपब्लिकन पार्टीलाई सत्तामा पुर्‍याएका छन् ।

यी सातवटा राज्यमा अरिजोना (११), जर्जिया (१६), मिचिगन (१५), नेभाडा (६), पेन्सिलभेनिया(१९), विस्कन्सिन ( १०) र नर्थ क्यारोलिना (१६) हुन् । अरु राज्यको इलेक्टोरल कलेज कसकाे पक्षमा छ भन्ने कुरा भने लगभग पक्का भइसकेको छ ।

स्वतन्त्र पर्यवेक्षक, विश्लेषक र स्वतन्त्र मत सर्वेक्षणले यी दुईबीच हालसम्मकै सबैभन्दा बढी घमासान प्रतिस्पर्धा  हुने प्रक्षेपण गरेका छन् भने ज्योतिषीहरुले पनि आआफनो विश्लेषण अनसार कसैले ट्रम्प वा कसैले ह्यारिसले जित्ने ठोकुवा गरेका छन् ।

Leave A Reply

Your email address will not be published.