काठमाडौं \ काठमाडौं महानगरपालिकाले बाढीपहिरो प्रभावित काभ्रेको पनौती नगरपालिका, रोशी गाउँपालिका र बेथानचोक गाउँपालिकालाई राहत स्वरूप २०/२० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । काठमाडौं महानगरपालिकाले काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित तीन वटा स्थानीय तहहरूलाई आर्थिक सहयोग गरेको छ ।
महानगरले बाढीजन्य विपदबाट पुगेको क्षति पुनर्स्थापना तथा संकट व्यवस्थापन गर्न राहतका लागि पनौती नगरपालिका, रोशी गाउँपालिका र बेथानचोक गाउँपालिकालाई २०/२० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
मेयर बालेन साहको अध्यक्षतामा शुक्रबार बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले तीन वटै स्थानीय तहहरूलाई २०/२० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको महानगर विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले जानकारी दिए ।
महानगरले आन्तरिकतर्फ आफ्नो भौगोलिक क्षेत्रभित्र भएको क्षतिको विवरण पठाउन महानगरले वडाहरूलाई पत्राचार गरेको छ ।