तीन उपप्रधान र पाँच मन्त्रीले सपथ लिए

0

काठमाडौं, १९ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन उपप्रधानमन्त्री र मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उप्रधानमन्त्री एवम् रक्षामन्त्री भीमबहादुर रावल, उपप्रधानमन्त्री एवम् महिला तथा बालबालिकामन्त्री चन्द्रप्रकाश मैनाली र अर्का उपप्रधानमन्त्री चित्रबहादुर केसीलाई सहकारी तथा गरिबी निवारण मन्त्रीको पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो ।
यस्तै अर्थमन्त्री विष्णु पौडेल, सूचना तथा प्रविधिमन्त्री शेरधन राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल र शान्ता मानवीले बिना विभागीय मन्त्रीको पद तथा गोपनीयताको शपथ लिनुभयो ।
त्यसैगरी सत्य नारायण मण्डललाई युवा तथा खेलकुद, रामजनम चौधरीलाई स्वास्थ्य तथा जनसङ्ख्या, विश्वेन्द्र पासवानलाई विज्ञान तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ । मण्डल, चौधरी र पासवान यसअघि नै मन्त्रीमा नियुक्त हुनु भए पनि मन्त्रालयको जिम्मेवारी भने तोकिएको थिएन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिना विभागीय ती मन्त्रीहरुको जिम्मेवारी समेत तोक्नुभएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कायममुकायम प्रधानन्यायाधीश गिरिशचन्द्र लाल उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, संवैधानिक निकायका प्रमुखहरु, विभिन्न राजनीतिक दलका शीर्ष नेता, सांसदहरुको उपस्थिति रहेको थियो ।
नेकपा (एमाले)को आज बसेको शीर्ष नेताको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाएको हो । उपप्रधानमन्त्री हुनुभएका रावल एमालेका उपाध्यक्ष हुनुहुन्छ । यस्तै मैनाली नेकपा (माले)का महासचिव र केसी राष्ट्रिय जनमोर्चाका अध्यक्ष हुनुहुन्छ । केसी पहिलो पटक मन्त्री हुनुभएको हो ।

Leave A Reply

Your email address will not be published.