एमसीसी कार्यान्वयनको एक वर्ष पूरा : उल्लेखनीय प्रगति भएको दाबी

0

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको एक वर्ष पूरा भएको छ । एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले यस अवधिमा १८ किलोमिटर लामो सीमापार विद्युत् प्रसारण लाइनका लागि ठेकेदार छनोट भएको र ठेकेदारको पहुँचका लागि साइट तयार गर्नमा उल्लेखनीय प्रगति भएको जानकारी दिनुभएको छ ।

त्यस्तै दुई सय ९७ किमी प्रसारण लाइनका लागि यस वर्ष पुनःबोलपत्र आह्वान गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार यसअवधिमा तीन वटा सबस्टेशनका लागि ठेक्का सम्झौता सम्पन्न भएको छ । सडक मर्मतसम्भार आयोजनाका लागि सडक विभागलाई प्रयोगशाला स्तरोन्नति, सडक परीक्षण उपकरण र प्राविधिक तालिमलगायत सहयोग प्रदान गरिएको एमसीए नेपालले जनाएको छ ।

यस्तै धानखोलादेखि लमहीसम्म फूल डेप्थ रिक्लेमेसन (एफडीआर) प्रविधि प्रयोग गर्न ४० किलोमिटर लामो सडक खण्ड स्वीकृत भएको र यसैवर्ष बोलपत्र आह्वान गर्ने तयारी छ । आवधिक मर्मतसम्भारका लागि दुई वटा सम्भावित सडक खण्डको पहिचान गरी स्वीकृत भएको एमसीए नेपालले जनाएको छ ।

यस्तै निर्माणस्थलमा पहुँच र जीविकोपार्जन पुनःस्थापनाअन्तर्गत १० जिल्लामा आठ सय ५६ वटा प्रसारण टावरका जग निर्माणका लागि जग्गा प्राप्तिमा प्रगति भएको, दुई वर्षे जीविकोपार्जन पुनःस्थापना कार्यक्रममार्फत दुई सय ७० जनालाई तालिम प्रदान गरिएको पनि परियोजनाले जनाएको छ ।

जग्गाको मुआब्जा निर्धारण गर्न नौ जिल्लामा मुआब्जा निर्धारण समिति गठन भएको तथा धादिङ, मकवानपुर र नवलपरासी पश्चिम गरी तीन जिल्लामा जग्गाको मुआब्जा निर्धारण गरिएको छ । नौ जिल्लामा पहिलो चरणको रुख गणना कार्य सम्पन्न भएको छ ।

एक वर्षको उपलब्धि जानकारी दिन हिजो भएको कार्यक्रममा एमसीसीका देशीय निर्देशक डियान एल फ्रान्सिस्केले समयमै एमसीसी परियोजना कार्यान्वयनमा आइसक्ने विश्वास व्यक्त गर्दै परियोजना अघि बढाउन नेपाल सरकारको तर्फबाट पनि सहजीकरण भइरहेको बताउनुभयो ।

यसैगरी नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले एमसीसी परियोजना समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्दै यसमा सरोकारवालाको सहयोग भइरहेको उल्लेख गर्नुभयो । उहाँले आयोजना कार्यान्वयनका लागि नेपाल सरकारबाट आवश्यक सहयोग र समन्वय भइरहेको बताउँदै अमेरिकी सरकारले यस आयोजनालाई महत्त्वका साथ अघि बढाएको जानकारी गराउनुभयो ।

तीन वटा सबस्टेसनको ठेक्कामा हस्ताक्षर, विद्युत् नियामक प्राधिकरणलाई प्राविधिक सहयोगको व्यवस्था, आयोजना प्रभावित समुदायलाई सहयोग गर्न एमसीए साझेदारी कार्यक्रमको थालनी, १८ किलोमिटर प्रसारण लाइनको ठेक्कामा हस्ताक्षर र उल्लेखनीय प्रगति भएको परियोजनाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.