इजरायलको कारबाहीमा हमासका प्रमुख नेता इरानमा मारिए

0

इजरायली सेनाले पछिल्लो समय विद्रोही समूहका नेतालाई लक्षित गरी आक्रमण गर्न थालेको छ । हमास नियन्त्रित क्षेत्र गाजाबाट हमासको अस्तित्व नमेटेसम्म आक्रमण गरिरहने बताएको इजरायलको पछिल्लो कारबाहीमा हमासका प्रमुख नेता इस्माइल हानिया इरानकाे तेहरानमा मारिएका छन् । हमासले विज्ञप्ति निकालेर नेता इस्माइलको ज्यान गएको पुष्टि गरेको हो ।

हमासकाअनुसार उनी सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्रीको रूपमा नियुक्त भएका थिए । सन् २०१७ मा हमासको राजनीतिक विभाग प्रमुखमा निर्वाचित भएका उनलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा आतङ्कवादी घोषणा गरेको थियो ।

यसैबीच इजरायली आक्रमणमा हिजबुल्लाहका शीर्ष कमाण्डर फुआद शुक्र पनि मारिएका छन् । लेबनानी सशस्त्र समूहको गढ रहेको दहियाहमा भएको आक्रमणमा हिजबुल्लाहका शीर्ष कमान्डरसहित अरू धेरै घाइते भएका बीबीसीले जनाएको छ । हिजबुल्लाहले भने अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

गएको शनिवार इजरायलले कब्जा गरेको गोलान हाइट्समा हिजबुल्लाहले गरेको रकेट आक्रमणमा फुटबल खेलिरहेका १२ जना युवककाे ज्यान गएको थियो । लगत्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहले केही दिनमै त्यसको बदला चुकाउनुपर्ने चेतावनी दिनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.