देशैभर वर्षा : कुन सडककाे अवस्था कस्ताे छ ?

0

वर्षाका कारण पहिरो खस्दा देशका धेरै सडक बन्द रहेका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाकाे गैराथोक, रातडाँडा, बिसौनालगायतका विभिन्न ठाउँमा सडक बन्द हुँदा भैरहवा–पोखरा र स्थानीय रुटमा चल्ने गाडी प्रभावित भएका छन् ।

पूर्व–पश्चिम राजमार्गको नवलपरासी चोरमारा सडक र मुग्लिन–पोखराको दमौली क्षेत्रमा लेदो र पहिरोले गाडी गुड्न समस्या भएको छ । पाल्पाको अर्गलीमा पहिलो जाँदा पाल्पा–गुल्मी सडक बन्द भएको छ । रिडी–तम्घास सडक र पाल्पा–अर्घाखाँची सडकमा पनि गाडी चल्न सकेका छैनन् ।

यस्तै सिन्धुपाल्चोकमा पहिरो जाँदा चीनसँगको नाका जोड्ने कोदारी राजमार्गमा गाडी चल्न सकेका छैनन् । कर्णाली राजमार्गअन्तर्गत कालीकोटका विभिन्न ठाउँमा पहिलो जाँदा गाडी चलेका छैनन् ।

यस्तै बीपी राजमार्गको बर्दिबास–सिन्धुली खुर्कोट सडकअन्तर्गत काभ्रेको रोशी र सिन्धुलीको सुनकोशी गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो जाँदा सडक खुल्ने र बन्द हुने भइरहेको छ । भालुबाङ, प्युठान–रोल्पा सडकको सिमलचौर, अँधेरीलगायतका क्षेत्रमा पहिरो जाँदा सडक बन्द छ । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको मकालु र भोटखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा पहिरो जाँदा गाडी चलेका छैनन् ।

यस्तै डुम्रे–बेसीशहर–चामे सडकको लमजुङका तीन वटा ठाउँमा पहिरो गएको छ । तानसेन–रिडी कोरला सडक पनि बन्द छ । म्याग्दीका विभिन्न ठाउँमा पहिरो जाँदा बेनी–जोमसोम सडक बन्द छ । साँफेबगर–मातर्डी कोल्टी खण्डअन्तर्गत अछामको बूढाबगरमा पहिरो जाँदा सडक बन्द भएको छ ।

यस्तै हेटौँडा–काठमाण्डाै जोड्ने धेरै सडक अवरुद्ध बनेका छन् । कान्ति लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ प्रतापडाँडा खण्ड र बकैया गाउँपालिका–१२ आले, सिमात घुम्ती सडक खण्डमा पहिरो गएको छ ।

त्यस्तै पहिरो जाँदा अवरुद्ध भएको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ महालक्ष्मी खोला नजिक मातातीर्थ, चखेल र देउराली जाने सडक खण्डमा पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ । अविरल वर्षाकै कारण अवरुद्ध रहेको भीमफेदी–काठमाण्डाै सडक खण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ रातोमाटे सडकमा पनि पहिराे हटाउने काम भइरहेको छ ।

यसैबीच पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आज बिहान पहिरो खसेर अवरुद्ध थर्पु–खैरेनीटार सडक पुनः सञ्चालनमा आएको छ ।

यस्तै पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा खसेको पहिरोले म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । वर्षासँगै आएको पहिरोले अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडक खण्ड अवरुद्ध भएको छ । सन्धिखर्क–६ दहखोला र बहोखरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीतसिंह राठोरले जानकारी दिनुभयो  ।

यस्तै रोल्पाको शहीदमार्ग र दाङको घोराही–तुलसीपुर सडक पनि बाढी पहिरोले बन्द छ । बझाङको मालाभीरमा पहिलो जाँदा जयपृथ्वी राजमार्ग बन्द छ । गोकुलेश्वर दार्चुला र साँफे–मार्तडी राजमार्ग पनि पूर्णरूपमा बन्द भएका प्रहरीले जनाएको छ । देशका धेरैजसो सडकमा बाढी पहिरोको प्रभाव रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

यसैबीच अवरुद्ध बनेको हेटौँडा–काठमाण्डाै जोड्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ छेपारेकाे दक्षिणकाली सडक खण्डमा गाडी चल्न थालेकाे छ । वर्षासँगै खसेको पहिरो हटाएपछि सडकमा गाडी पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । पहिरो खस्दा गएरातिदेखि याे सडक अवरुद्ध भएको थियो ।

Leave A Reply

Your email address will not be published.