राष्ट्रिय ललितकला प्रदर्शनी : ३० हजार जनाभन्दा धेरैले अवलोकन गरे

0

गणतन्त्र दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शुरु गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ३० हजार जनाभन्दा धेरै दर्शकले अवलोकन गरेका छन् ।

यही जेठ १५ गतेदेखि शुरु भएको प्रदर्शनीको अवधि जेठ ३० गतेसम्म तोकिएकोमा अवलोकन गर्नेहरूको भीड बढ्न थालेपछि आजसम्म विस्तार गरिएको छ । यस अवधिमा ३० हजार जनाभन्दा धेरैले प्रदर्शनी अवलोकन गरेका प्रतिष्ठानका प्राज्ञ सदस्य एवम् मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनीमा चार सय ८२ जना कलाकारका पाँच सय २२ वटा कलाकृति राखिएका छन् ।

‘सामाजिक रूपान्तरण, ललितकलाको अभियान’ भन्ने नाराका साथ भएको प्रदर्शनीमा सात वटै प्रदेशबाट छानिएका कलाकृति समावेश गरिएका छन् । प्रदर्शनीमा कार्टुन पनि राखिएको छ । प्रदर्शनीमा देशको अवस्था झल्कने कलाकृतिको बाहुल्यता देख्न सकिन्छ । राहदानी बनाएर विदेश जान विमानस्थलमा लाम लाग्ने अवस्थालाई कलाकृतिका माध्यमबाट देखाइएको छ ।

यस वर्षको प्रदर्शनीमा सुरेश लवटको २१ तारा शीर्षकको काठको मूर्ति पहिलो भएर सर्वाेत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार प्राप्त गरेको छ । एक सय आठ सेन्टिमिटर उचाइको यो कलाकृतिले धेरै दर्शकलाई आकर्षित गरेको थियो ।

प्रतिष्ठानले २०६८ सालदेखि नै गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनी गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.