तेह्र जिल्लाका तेह्र वडा छनोट

0

हेटौँडा \  बागमती प्रदेश सरकारले प्राथमिकतामा राखेको नमुना वडा समाजवादी कार्यक्रम  सञ्चालन गर्न वडाहरू छनोट गरिएको छ ।

प्रदेशका १३ जिल्लाको १३ वटा वडामा वडा समाजवादी कार्यक्रम कार्यान्वयन गर्ने गरी बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले  निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेशको १३ जिल्लाका १३ वटा पालिकाका एक/एक वडामा वडा समाजवादी कार्यक्रम  कार्यान्वयन गर्न वडा छनोट गरिएको जानकारी दिनुभयो ।

प्रदेश र छनोटमा परेका वडाका पालिकाको सह-लगानीमा कार्यक्रम  सञ्चालन गर्ने गरी नमुना वडा समाजवादी कार्यक्रमको अवधारणा बनाइएको छ । मन्त्री श्रेष्ठले कार्यक्रमका लागि एक करोड रुपियाँ बजेट हुने जानकारी दिँदै ९० लाख रुपियाँ प्रदेश सरकारले उपलब्ध गराउने र सम्बन्धित पालिकाले १० लाख रुपियाँ बजेट व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

गत आवमा २०७९/८० को नीति तथा कार्यक्रम नमुना वडा समाजवादी कार्यक्रमको अवधारणा ल्याएर बजेट व्यवस्था गरेपछि कार्यान्वयनमा आउन सकेको थिएन । चालु आवको नीति तथा कार्यक्रममा नमुना वडा समाजवादी कार्यक्रम सञ्चालन गर्ने पुनः प्रतिबद्धतासँगै १५ करोड रुपियाँ बजेट व्यवस्था गरिएको छ ।

गत मङ्सिर १२ गते बसेको मन्त्रीपरिषद् बैठकले नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० स्वीकृत गरेसँगै वडा समाजवादी कार्यक्रम कार्यान्वयनका लागि बाटो खुलेको थियो ।

अब नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन प्रक्रिया अगाडि बढाइने मन्त्री श्रेष्ठले बताउनुभयो ।

मानव सूचकाङ्कमा पछाडि परेका वडाको छनोट गरी कार्यक्रम सञ्चालन गर्ने गरी प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट विनियोजन गरेको छ ।

वडा समाजवादी कार्यक्रम कार्यविधिमा व्यवस्था भए अनुसार पालिकाले सञ्चालन गर्ने कार्यव्रmमहरू ल्याएर प्रदेशमा पेस गरेपछि प्रदेशबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।

कार्यक्रम कार्यान्वयनका लागि मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ७, सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नं. १, भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४, काठमाडौँको शङ्करापुर नगरपालिका वडा नं. २, ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नं. २ र रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–७ छनोटमा परेका छन् ।

यस्तै बैठकले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नं. ३, नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको वडा नं. ३, रसुवाको नौकुण्ड गाउँपालिकाको वडा नं. ५, धादिङको रुबिभ्याली गाउँपालिका वडा नं. ५, दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नं. १ र चितवनको माडी नगरपालिका वडा नं. ९ र काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाको वडा नं. १ मा नमुना वडा समाजवादी कार्यक्रम सञ्चालन गरिने छ ।

यस्तै मन्त्रीपरिषद् बैठकले प्रदेश सडक गुरुयोजना पारित गरेको छ । मन्त्री श्रेष्ठले गुरुयोजना अन्तर्गत करिब तीन सय योजना रहेको बताउँदै प्राविधिकसँग सल्लाह गरेपछि योजना थपघट हुने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.