हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत राख्ने निर्णयविरुद्ध दल

0

हेटौँडा \  हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत नराखी छुट्टै सञ्चालन गर्नुपर्नेमा मकवानपुरमा क्रियाशील राजनीतिक दल एक मत भएका छन्।

बागमती प्रदेश सरकारले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत राख्ने गरी गाभ्ने निर्णय गरेसँगै त्यसको विरुद्धमा रहेका मकवानपुरको क्रियाशील राजनीतिक दलले हेटौँडा अस्पताललाई छुट्टै राख्न माग गरेका हुन्।

हेटौँडामा शनिबार भएको राजनीतिक दलको भेलाले जिल्लाको गौरवको रुपमा रहेको हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत नराख्न प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको हो।

राजनीतिक दलहरुको भेलाले हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत लैजाने गरी बनाएको ऐन संशोधन गरी हेटौँडा अस्पतालमा नगाभ्न माग गर्ने निर्णय गरेको भेलामा सहभागी नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुन चौलागाईंले जानकारी दिनुभयो।

भेलाले हेटौँडा अस्पताललाई छुुट्टै सञ्चालन गर्नुपर्ने, प्रतिष्ठानका लागि आवश्यक अस्पताल छुट्टै स्थापना गर्नुपर्ने र प्रतिष्ठानलाई उद्देश्य अनुसार प्रभावकारी रुपमा सञ्चालन गर्न माग गर्ने निर्णय गरेको उहाँले बताउनुभयो।

भेलामा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, उपप्रमुख सानुकाजी लुइटेल, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा (माओवादी केन्द्र)का वीरबहादुर घलान, नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष विष्णु दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटा, राप्रपाकी गीता सापकोटा, नेकपा मकवानपुरका जिल्ला इञ्चार्ज राम सी, जनता समाजवादी नेपाल मकवानपुरका अध्यक्ष सोम घलान, नेपाल समाजवादी पार्टी मकवानपुरका अध्यक्ष राजकुमार भेटवाललगायतको सहभागिता रहेको थियो।

यसअघि कांग्रेस मकवानपुरले कांग्रेसबाट बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यसँग छलफल कार्यक्रमको आयोजना गरी अस्पताललाई प्रतिष्ठानमा गाभ्ने निर्णय गलत भएको भन्दै ध्यानाकर्षण गराएको थियो।

Leave A Reply

Your email address will not be published.