प्रधानमन्त्री कप पुरुष तथा महिला भलिबल लिग आजदेखि : पहिलो दिन ६ वटा खेल हुँदै

0

आठौँ प्रधानमन्त्री कप एनभीए पुरुष तथा महिला भलिबल लिग आजदेखि शुरु हुँदैछ । नेपाल भलिबल सङ्घकाअनुसार आज पहिलो दिन पुरुषतर्फ चार र महिलातर्फ दुई गरी ६ खेल हुँदैछन् । आज पुरुषतर्फ हेल्प नेपाल र बूढानीलकण्ठ, पुलिस क्लब र सुदूरपश्चिम, एपीएफ र गण्डकी तथा आर्मी र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

पुरुषतर्फको उद्घाटन खेलमा आज बिहान ९ बजे हेल्प नेपाल र बूढानीलकण्ठ खेल्नेछन् । त्यस्तै पुलिस र सुदूरपश्चिम बिहान ११ बजे, एपीएफ र गण्डकी दिउँसो एक बजे तथा आर्मी र कोशी प्रदेश बेलुका ७ बजे खेल्ने तालिका छ ।

यस्तै महिलातर्फ आज एपीएफ र चन्द्रागिरी तथा पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फको उद्घाटन खेलमा एपीएफ र चन्द्रागिरीको खेल दिउँसो तीन बजे हुनेछ भने दोस्रो खेलमा पुलिस र आर्मी बेलुका ५ बजे खेल्नेछन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ छ वटा टोली रहेका छन् ।

लिग चरणको खेलमा पुरुषतर्फ हरेक दिन चार वटा खेल हुनेछ भने महिलातर्फ लिग चरणमा जेठ २२ गते तीन वटा खेल हुँदा अरू दिन दुई वटा खेल हुनेछ । लिग चरणपछि पुरुष र महिला दुवैतर्फ शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ ।

लिगमा पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश र बूढानीलकण्ठ भलिबल क्लब रहेका छन् । यस्तै महिलातर्फ एभरेस्ट भलिबल क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमन्ड, त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश रहेका छन् ।

प्रतियोगिता जेठ २६ गतेसम्म चल्नेछ । पुरुष र महिला दुवैतर्फको विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टोलीले दुई लाख रुपैयाँ पाउनेछन् ।

Leave A Reply

Your email address will not be published.