भियतनामको अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु

0

हनोई \ भियतनामको राजधानी हनोईमा साँघुरो गल्लीमा रहेको एउटा अपार्टमेन्टमा राति भएको आगलागीमा १४ जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।

मध्य हनोईमा रहेको अपार्टमेन्ट भवनसम्म मात्र दुई मिटर (छ फिट पाँच इन्च) चौडा गल्लीमार्फत पुग्न सकिन्थ्यो । यसबाट दमकल त्यहाँ पुग्न नसकेपछि अग्निनियन्त्रकहरूले पाइपमार्फत आगो निभाएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।

भियतनाम समाचार एजेन्सीका अनुसार राति करिब १२ः३० मा आगो लागेको थियो र धेरै विस्फोटको आवाज पनि सुनिएको थियो । आगो निभाउन एक घन्टा लागेको थियो ।

छिमेकी गुयेन थान ट्रुङले आफू सुतिरहेका बेला विस्फोटको आवाज सुनेको र हेर्न बाहिर निस्केको बताउनुभयो । “मैले घरमा झटका महसुस गर्न सक्थेँ” उहाँले भन्नुभयो । आगलागीको समयमा उक्त भवनमा घर मालिकका परिवारका सात र अन्य १७ जना भाडामा बस्नेगरी २४ जना रहेको सञ्चारमाध्यमले बताएको छ । घाइतेको अवस्था स्थिर रहेको र उनीहरूको हनोई ट्रान्सपोर्ट अस्पतालमा उपचार भइरहेको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार विद्युतीय बाइकको बिक्री र मरम्मत गर्न ग्यारेजका रूपम प्रयोग गरिएको भवन नजिकैको सानो आँगनमा आगो लागेको थियो । पछि प्रहरीले गल्लीलाई घेरा हालेको थियो । अपार्टमेन्टमा जलेका मोटरसाइकल र रुखहरू जलेका अवशेष तथा छरिएका सामानहरू थिए ।

मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप एक हजार नौसय ६२ डलर र घाइतेलाई एक हजार एकसय ७७ डलर दिने अधिकारीहरूले बताएका छन् । यो आगलागीले गत वर्ष सेप्टेम्बरमा हनोइमा भएको आगलागीलाई सम्झना गराउँछ । उक्त समयमा ५० भन्दा धेरै व्यक्तिको मृत्यु भएको थियो । सो बेला पनि उद्धार कार्यमा साँघुरो गल्लीले अवरोध गरेको थियो । रासस

Leave A Reply

Your email address will not be published.