कोलकाता आईपीएलको फाइनलमा, हैदराबाद ८ विकेटले पराजित

0

अहमदाबाद \ कोलकाता नाइट राइडर्सले पहिलो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई हराउँदै इन्डिन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा कोलकाता ८ विकेटले विजयी बनेको हो ।

हैदराबादले प्रस्तुत गरेको १ सय ६० रनको मध्यम लक्ष्य कोलकाताले ३८ बल बाँकी छँदै पछ्यायो । वेंकटेश ऐयर र श्रेयस ऐयरले अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई जित दिलाए ।

कप्तान श्रेयसले मात्र २४ बलमा ५८ रन जोडे । उनले यस क्रममा ५ चौका र ४ छक्का हिर्काए ।  त्यस्तै, वेंकटेशले २८ बलमा ५१ रन बनाए । उनले पनि ५ चौका र ४ छक्का प्रहार गरे ।

रहमानुल्लाह गुरबाजले २३ रन तथा सुनिल नरेनले २१ रनको योगदान दिए । हैदराबादका लागि प्याट कमिन्स र टी नटराजनले एक–एक विकेट हात पारे ।

यसअघि मिचेल स्टार्क र वरुन चक्रवर्तीको घातक बलिङसामु हैदराबाद १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रनमा सीमित बनेको थियो । स्टार्कले ३ तथा चक्रवर्तीले २ विकेट लिए ।

हैदराबादका लागि राहुल त्रिपाठीले सर्वाधिक ५५ रन बनाए । हेनरिच क्लासनले ३२ रन, कप्तान कमिन्सले ३० रन तथा अब्दुल  सामदले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले खासै ठुलो योगदान दिन सकेनन् ।

हारका बाबजुद हैदराबादले फाइनलमा जानका लागि अर्को मौका प्राप्त गर्नेछ । भोलि हुने राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिचको विजेतासँग टोलीले दोस्रो क्वालिफायर खेल्नेछ ।

Leave A Reply

Your email address will not be published.