क्रिकेटरले दुई करोड चार लाख ७५ हजार रुपियाँ पाउने

0

काठमाडौँ \  मन्त्री परिषद्को बिहीबार बसेको बैठकले खेलाडीलाई दुई करोड ९७ लाख १० हजार रुपियाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई मन्त्री परिषद्ले अनुमोदन गरेसँगै चीनमा भएको १९औँ एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका हुन् ।

आइसिसी पुरुष टी–२० विश्वकप फाइनल एसियाको दोस्रो भएको राष्ट्रिय क्रिकेट टिमले कुल दुई करोड ४ लाख ७५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछ। १५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईले तीन लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिँजियो विक्रम न्यौपानेले जनही एक लाख ९५ हजार रुपियाँ पाउनुहुनेछ ।

यस्तै १९औँ एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाउन सफल एरिका गुरुङले १९ लाख ५० हजार रुपियाँ प्राप्त गर्नुहुनेछ । प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले दुई लाख ३४ हजार, सहायक प्रशिक्षक छोरी डङ्गोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवास गोपाल वैद्याले एक लाख ९५ हजार प्राप्त गर्नुहुनेछ । एसियन गेम्समा रजत विजेता कराते टिमले कुल २५  लाख ३५ हजार रुपियाँ प्राप्त गर्नेछ ।

एसियाली खेलकुदमा नै कबड्डीमा कांस्य जित्ने नेपाली राष्ट्रिय महिला कबड्डी टिमका १२ खेलाडीले जनही तीन लाख ९० हजार, प्रमुख प्रशिक्षक पार्वती राईले दुई लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णु दक्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही एक लाख ३० हजार रुपियाँ प्राप्त गर्नुहुनेछ । कबड्डी टोलीले कुल ४८ लाख दश हजार रुपियाँ प्राप्त गर्नेछन् ।

यस्तै चौथो एसियाली पारा खेलकुद २०२२ मा कांस्य जितेकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनले १३ लाख रुपियाँ प्राप्त गर्नुहुनेछ । प्रमुख प्रशिक्षक कविराज नेगी लामाले दुई लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले एक लाख ३० हजार रुपियाँ प्राप्त गर्नुहुनेछ ।

लामो समयदेखि सरकारले घोषणा गरेको पुरस्कार प्रदान गर्न खेलाडीले बारम्बार गरेको अनुरोधलाई प्रमुख एजेन्डा बनाएर यसको लागि धैरै मिहिनेत गर्नु परेको युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बताउनुभयो। उहाँले यसको लागि मन्त्री श्रेष्ठले अर्थ मन्त्रालय र नेपाल सरकारलाई धन्यवाद पनि दिनुभयो ।

Leave A Reply

Your email address will not be published.