जापानका विदेशमन्त्री आज आउनुहुँदै, साझेदारी वृद्धिमा सहयोग

0

काठमाडौँ \ जापानका विदेशमन्त्री कामिकावा योको आइतबार औपचारिक भ्रमणका लागि नेपाल आइपुग्नु हुँदै छ । जापानबाट नेपालमा सन् २०१९ पछि छ वर्षको अन्तरालमा यो उच्चस्तरीय भ्रमण हुन लागेको हो । सन् २०१९ मा जापानका तत्कालीन विदेशमन्त्री तारो कोनोले नेपालको दुईदिने भ्रमण गर्नुभएको थियो ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानका विदेशमन्त्री योको नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । उहाँले आइतबार उच्चस्तरीय भेटावार्ता गर्नुहुने छ । परराष्ट्र मन्त्रालयका अनुसार उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गर्नुहुने छ ।

साथै परराष्ट्रमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिनिधि मण्डल र जापानका विदेशमन्त्री योकोसहितको जापानको उच्चस्तरीय प्रतिनिधि मण्डलबिच द्विपक्षीय भेटवार्ता हुने तय भएको प्रवक्ता अमृतबहादुर राईले बताउनुभयो । त्यस क्रममा दुई देशबिचको आपसी सम्बन्ध विस्तारसँगै आगामी साझेदारीलाई वृद्धि गर्न थप केही सम्झौता हुने सम्भावना रहेको मन्त्रालयले जनाएको छ । उहाँ आइतबार साँझ नै स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।

जापानको प्रभावशाली नेतृत्वका रूपमा उदाउनुभएकी विदेशमन्त्री योको जापानको तेस्रो महिला विदेशमन्त्री हुनुहुन्छ । सन् २००७ मा तत्कालीन प्रधानमन्त्री सिन्जो आबेको सरकारमा उहाँ पहिलो पटक लैङ्गिक समानता तथा सामाजिक मामिला राज्यमन्त्री हुनुभएको थियो । त्यसपछि सन् २००८ मा यासुओ फुकादा प्रधानमन्त्री हुँदा सार्वजनिक तथ्याङ्क व्यवस्थापन तथा राष्ट्रिय अभिलेखालयमन्त्री हुनुभयो । त्यसपछि सिन्जो आबेकै दोस्रो कार्यकालको सरकारमा उहाँले चार पटक र सन् २०२० मा प्रधानमन्त्री योसिहिदे सुगाको कार्यकालमा एक गरी पाँच पटकसम्म न्यायमन्त्रीको पदभार सम्हाल्नुभयो ।

सन् २०२१ मा नयाँ प्रधानमन्त्री फुमियो किसिदाको कार्यकाल सुरु भएयता उहाँ गत वर्ष जापानको विदेशमन्त्रीमा नियुक्त हुनुभएको हो । उहाँ सन् २००० यता भएकामध्ये एउटाबाहेक हरेक पटकको आमनिर्वाचनमा निर्वाचित हुँदै जापानी संसद्मा चयन हुँदै आउनुभएको छ ।

नेपाल–जापान सम्बन्ध 

नेपाल–जापान सम्बन्धको सुरुवात ८१ औँ शताब्दीको अन्त्यतिर सुरु भएको मानिन्छ । सन् १९५६ सेप्टेम्बर १ मा दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई देशबिचको सम्बन्ध मित्रता, सद्भावना र सहयोगको आदानप्रदान हुँदै आएको छ ।

नेपालले सन् १९६५ मा टोकियोमा आफ्नो दूतावास स्थापना गरेपछि जापानले १९६७ मा काठमाडौँमा दूतावास स्थापना गरेको थियो । नेपालको ओसाकामा मानार्थ महावाणिज्य दूतावास छ ।

जापान नेपालको प्रमुख विकास साझेदार पनि हो । जापानको बौद्ध भिक्षु, रेभ एकाई कावागुची पहिलो पटक सन् १८९९ मा तिब्बत जाने क्रममा पवित्र बौद्ध धर्मग्रन्थको खोजीमा नेपाल आउनुभएपछि दुई देशबिचको जनसम्बन्ध स्थापना भएको मानिन्छ ।

सोही सम्बन्धको आधारमा राणाशासनकालमा सन् १९०२ देखि १९०५ सम्ममा आठ नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएका थिए ।

Leave A Reply

Your email address will not be published.