काठमाडौँ \ वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा जितका लागि एक सय ७३ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । यससँगै सिरिज वेस्ट इन्डिजले ३–२ ले जितेको छ ।
नेपालका लागि अनिल शाहले ५८ र आशिफ शेखले ५१ रनको अर्धशतकीय पाली खेल्नुभयो । कुशल मल्लले अविजित ३७ र कुशल भुर्तेलले १३ रन बनाउनुभयो ।
बलिमा वेस्ट इन्डिजका ओवेड म्याक्वेले तीन तथा म्याथ्यु फर्डले एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७२ रन बनाएको थियो ।
वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जे अविजित ४२ रन बनाउनुभयो । यस्तै कप्तान रोस्टन चेजले ३३, जोनसन चार्ल्सले २४, म्याथ्यु फर्डले २३ तथा कादिम अलीने र मार्क डेयलले समान ११ रन बनाउनुभयो । बलिङमा नेपालका सागर ढकाल र सोमपाल कामीले तीन तीन विकेट लिनुभयो । अविनाश बोहराले एक विकेट झार्नुभयो । पाँच खेलको सिरिजमा यसअघिनै वेस्ट इन्डिज ‘ए’ ३–१ ले जितिसकेको थियो ।