काठमाडौँ \ शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक/कर्मचारीलाई कारबाही गर्न शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०८१ वैशाख ४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार केन्द्रले अनुसन्धान गरेर कारबाही गर्न इकाईहरूलाई निर्देशन दिएको हो ।
केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका शाखा अधिकृत हरिबहादुर श्रेष्ठले ७७ वटै जिल्लाका इकाईलाई परिपत्र गर्दै कारबाही गर्न भनेका हुन् । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक/कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको, कार्यकारिणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएको भन्दै शिक्षा मन्त्रालयमा उजुरी परेका छन् ।
कक्षा १२ सम्मको अध्यापन गराउने देशभर चार लाख २० हजार शिक्षक छन् । तीमध्ये अधिकांश विभिन्न राजनीतिक दलका शिक्षक सङ्गठनहरूमा आबद्ध छन् । नेपाल शिक्षक महासङ्घका अनुसार देशभर महासङ्घमा आबद्ध र सम्बद्ध गरी १५ वटा संस्थाहरू छन् । तीमध्ये अधिकांश राजनीतिक दल निकटका संस्थाहरू हुन् ।
हाल नेपाली कांग्रेसनिकट नेपाल शिक्षक सङ्घ, नेकपा एमाले एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन, नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक सङ्घ लगायतका शिक्षक सङ्गठनहरू क्रियाशील छन् ।