मन्त्रिपरिषद् बैठक : तथ्याङ्क नियमावली स्वीकृत गर्ने सरकारको निर्णय

0

काठमाडौं \ सरकारले तथ्याङ्क नियमावली, २०८० लाई स्वीकृत गरेको छ।  बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले तथ्याङ्क नियमावली, २०८० लाई स्वीकृत गरेको हो।

बैठकका निर्णय शुक्रबार सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा हरिप्रसाद लम्साललाई बढुवा गरेको बताउनुभयो।

उहाँका अनुसार सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त तीन सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गरेको छ। त्यस्तै नेपाल स्वास्थ्य सेवा अन्तर्गत विभिन्न समूह, उपसमूहका ११ जना अधिकृतलाई सम्बन्धित समूह, उपसमूहका ११ औं तहमा बढुवा गरेको पनि प्रवक्ता शर्माले बताउनुभयो।

उहाँले विकास आयोजनाको लागि प्रयोग हुने राष्ट्रिय वनको क्षेत्रफल र कटान हुने रुख सङ्ख्यामा फरक नपर्ने गरी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिनेसम्बन्धी शर्त परिमार्जन गर्न स्वीकृत दिने निर्णय भएको पनि बताउनुभयो।

सरकारले नेपालको संविधानको धारा ५३ एवं सुशासन, व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्ने निर्णय गरेको छ।

त्यस्तै सरकारले आर्थिक वर्ष २०८१/०८२ लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम अनुमानित राजश्व सात प्रदेशका लागि ७७ अर्ब ५० करोड रुपियाँ, स्थानीय तहका लागि ७७ अर्ब ५० करोड रुपियाँ र वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशको लागि ६० अर्ब र स्थानीय तहको लागि ८८ अर्ब रुपैयाँ स्वीकृत गर्ने निर्णय गरेको छ।

Leave A Reply

Your email address will not be published.