१५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। एकैजना पीडित रहेको तीनवटा छुट्टाछुट्टै घटनामा प्रहरीले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको हो।
एकपटक तीनजनाले र एकपटक दुईजनाले सामूहिक बलात्कार गरेको पीडितको जाहेरी छ। गत २४ माघमा विशालनगरमा सामूहिक बलात्कार गरेको अभियोगमा बाजुराका अंगराज बोहरा, तेजबहादुर दानी र जनक बोहरा पक्राउ परेका हुन्।
तीनै बालिकामाथि गत २१ माघमा मूलपानीस्थित लभ टू लभ होटेल एन्ड लजमा सामूहिक बलात्कार गरेको अभियोगमा अर्काे मुद्दा दायर भएको छ। जसमा दार्चुलाका शुभराज पन्त र बाजुराका चेतराज दानी प्रतिवादी छन्। प्रहरी वृत्त बौद्धले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।
बिहीबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश किशोर घिमिरेको इजलासले ६ जनालाई नै पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ। पक्राउ परेका सबैजनाको बालिकासँग फेसबुकमार्फत चिनजान भएको थियो।