पालुङ गढीलाई पर्यटकीय गन्तव्य बनाइँदै

0

हेटौँडा \पर्यटकीय नगरी मकवानपुरको उत्तरी क्षेत्रमा रहेको पालुङ गढीलाई पर्यटकीय गन्तव्य बनाउने पहल थालिएको छ । थाहा नगरपालिका वडा नं. २ मा अवस्थित पालुङ गढीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय सरकार र स्थानीयवासी जुटेका हुन् । पालुङ गढीसम्म पुग्ने पैदल मार्ग तथा मनोरञ्जन स्थल निर्माण सुरु गरिएको छ ।

२ नं. वडाले पालुङ गढीको संरक्षण एवम् प्रवर्द्धनका लागि १५ लाख रुपियाँ बजेट विनियोजन गरेसँगै स्थानीयले समिति गठन गरेर काम थालनी गरेका हुन् । पालुङ गढी पिकनिक स्पोर्ट निर्माण समिति गठन गरेर वडाबाट विनियोजित बजेर र स्थानीयको दुई लाख ५० हजार श्रमदानमा काम थालनी भएको छ । पालुङ गढीमा जानका लागि एकसय मिटरको सिँढी निर्माणको कार्य थालनी गरिएको समितिका अध्यक्ष अजय कार्कीले जानकारी दिनुभयो ।

थाहा–२ गैरीगाउँको ६० घरधुरीले प्रत्येक घरले चार दिन श्रमदान गर्ने गरी काम थालनी गरिएको अध्यक्ष कार्कीको भनाइ छ । एकसय मिटर कालो ढुङ्गाको सिडी, दायाँबायाँ फलामे बार र प्रत्येक बारको दुई भागमा एक सय वटा फाइवरको फेम भएको बत्ती राखिने योजना राखिएको छ । सिँढी निर्माणका लागि विनियोजन गरेको बजेट खर्च हुने भएकाले पिकनिक स्थल निर्माण, आवश्यक भौतिक संरचनाका लागि सहयोगी हातको भरपरेको अध्यक्ष कार्कीले बताउनुभयो ।

आइ लभ पालुङ गढी लेख्नका लागि अस्ट्रेलियामा रहनुभएका सुरेश थापाले ३५ हजार रुपियाँ, २० फिटको अग्लो फलामको पाता रहेको नेपालको झण्डाका लागि नेपाली सेनाका प्रवेश विष्टले १५ हजार, फलामको कुर्सीका लागि गोविन्द कार्कीले १० हजार, गढी जाने बाटोमा पुग्नको लागि बाटो निर्माणका लागि जग्गा पर्ने उद्धव रानामगर र रामशरण राना मगरले जग्गा उपलब्ध गराउनुभएको छ ।

परापूर्व कालमा पालुङ राज्यको दरबार संरक्षणका लागि उक्त डाँडामा गढी रहेको र नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले पालुङ राज्यमाथि आक्रमण गरी उक्त पालुङ गढी र पालुङ दरवारलाई ध्वस्त बनाएको किम्बदन्ती रहेको छ ।

Leave A Reply

Your email address will not be published.