जापान दिगो र भरपर्दो विकासको सहयात्री : राष्ट्रपति

0

काठमाडौँ \ राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको एउटा दिगो र भरपर्दो विकासको सहयात्री पनि भएको बताएका छन् । नेपाल जाइका अलमनाई एसोसियसन (जान) को ५० औँ वार्षिक समारोहको आइतबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालको प्राविधिक जनशक्ति विकास, जलविद्युत, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माण, कृषि क्षेत्र र पूर्वाधार विकासका क्षेत्रमासमेत जापानले पुर्‍याएको योगदानको नेपालले सदैव उच्च मूल्याङ्कन गरेको बताएका हुन् ।

‘मुलुकमा भएको राजनीतिक परिवर्तनपछि नेपालमा सामाजिक, आर्थिक, सांस्कृतिक तथा विकासका अन्य क्षेत्रहरूमासमेत प्रगति भइरहेको छ । यस प्रक्रियामा जापान सरकारको सहयोग र सद्भाव विगतमा जस्तै आगामी दिनमा हाम्रा लागि महत्त्वपूर्ण रहने छन्,’ पौडेलले भने । उनले नेपाल र जापानबिच परम्परागत रूपमा सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै एसियाको एक समृद्धशाली प्रजातान्त्रिक मुलुक जापानले विज्ञान प्रविधिको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक क्षेत्रका साथै समग्र मानव विकासमा मारेको फड्को अनुकरणीय रहेको बताए ।

विगत छ दशकदेखि नेपाल जापानको सम्बन्धलाई जनतासम्म पुर्‍याउन र जापानमा सिकेको ज्ञान, सिप र प्रविधिलाई नेपालको विकासमा लगाउन एसोसिएसनले गरेको योगदान सराहनीय रहेको उल्लेख गर्दे राष्ट्रपति पौडेलले जानले ग्रामीण क्षेत्रमा जनताको जीवनस्तर उकास्न सामुदायिक विकासका कामहरू गरिरहेको र यस्तो कार्यलाई थप ग्रामीण क्षेत्रमा विस्तार गर्न सुझाव पनि दिए । उनले नेपाल जापानबिचको मित्रतालाई अझै घनिभूत बनाउन र जापान सरकारले नेपाललाई गर्ने सहयोगबाट अधिकतम उपलब्धि हासिल गर्ने काममा यस्ता कार्यक्रमबाट महत्त्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.