नेपालमा कुल मृत्युको ११ दशमलव ११ प्रतिशत क्यान्सरबाट

0

नेपालमा कुल मृत्युको ११ दशमलव ११ प्रतिशत मृत्यु क्यान्सरबाट हुने गरेको पाइएको छ ।

विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले गर्दा बढी मृत्यु हुने गरेको जानकारी दिनुभयो । निर्देशक मरासिनीले नेपालमा प्रत्येक वर्ष झन्डै २० हजार जनाभन्दा बढी मानिसमा क्यान्सर पहिचान हुने गरेको बताउनुभयो ।

सन् २०२० मा क्यान्सरकै कारण नेपालमा १६ हजार ६ सय २९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा फोक्सो, पाठेघरको मुख, स्तन, पेट र आन्द्राको क्यान्सरका बिरामी बढी देखिने गरेका महाशाखाका निर्देशक मरासिनीले बताउनुभयो । उहाँका अनुसार पुरुष र महिलाको तुलना गर्दा पुरुषमा फोक्सो, आमाशय, मुख तथ मुखजन्य क्यान्सर बढी देखिन्छ भने महिलाको हकमा पाठेघरको मुख रस्तन क्यान्सर सबैभन्दा बढी देखिने गरेको छ ।

अहिले क्यान्सर विश्वभर मृत्युको प्रमुख कारणमध्ये एक हो । विश्वको तथ्याङ्कअनुसार प्रत्येक ६ जनामा एक जनाको मृत्यु क्यान्सरबाट हुने गरेको छ । क्यान्सरको एक तिहाइ कारक तत्त्वहरूमध्ये सुर्तीजन्य वस्तु तथा जाँड–रक्सीको प्रयोग, शारीरिक निष्क्रियता रहेको छ ।

Leave A Reply

Your email address will not be published.