रौतामाई गाउँपालिकाका माग सरकारले सम्बोधन गर्छ : प्रधानमन्त्री

0

उदयपुर \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन गर्नुभएको छ । उदयपुरको रौतामाई गाउँपालिकास्थित भुट्टारमा आज (शनिबार) आयोजित समारोहमा उहाँले प्रशासकीय समुद्घाटन गर्नुभएको हो । उक्त भवन सात करोड ५० लाखको लागतमा निर्माण गरिएको हो ।

सो अवसरमा प्रधानमन्त्रीले रौतामाई गाउँपालिकाका मागलाई सरकारले सम्बोधन गर्ने बताउनुभयो । स्थानीयतहलाई संविधानले धेरै अधिकार प्रदान गरेको उल्लेख गर्नुहुँदै  जनतालाई सुलभ सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार गाउँ-गाउँमा पुगेको जनताले अनुभुत हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । बजेट बनाउने समयमा रौतामाई गाउँपालिकालाई सम्झने उहाँले बताउनुभयो । शान्ति प्रक्रिया सबै राजनीतिक दलको सहमतिमै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले सबैको सहयोगमा देशको विकास अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

मुलुकको अर्थतन्त्र सही बाटोमा अगाडि बढेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले पछिल्ला समय अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको स्पष्ट पार्नुभयो । “अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्, विदेशी मुद्राको सञ्चिती तथा पर्यटकको आगमन बृद्धि भएको छ”, उहाँले भन्नुभयो, “यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्धत गरेको छ, पछिल्लो समय राजस्व पनि वृद्धि भएको छ ।”

Leave A Reply

Your email address will not be published.